काठमाडौं । बजारमा खाना पकाउने ग्यास अभाव चुलिँदै जाँदा बुटवल उपमहानगरपालिकाले स्थानीय बासिन्दाका लागि वैकल्पिक व्यवस्था गर्दै ठूलो परिमाणमा चुल्हो वितरण गरेको छ ।
ग्यास संकटका कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला उपमहानगरपालिकाले वडा कार्यालयमार्फत सुधारिएको तथा विद्युतीय इन्डक्सन चुल्हो वितरण सुरु गरेको हो । उपमहानगरका मेयर खेलराज पाण्डेका अनुसार हालसम्म १५ सय सुधारिएको चुल्हो र ३ हजार विद्युतीय इन्डक्सन चुल्हो वितरण भइसकेको छ ।
विशेष कुरा के भने, बजारमा करिब ६ हजार रुपैयाँ पर्ने सुधारिएको चुल्हो मात्र ३ सय रुपैयाँमा उपलब्ध गराइएको छ भने ४ हजार ५ सय रुपैयाँ पर्ने इन्डक्सन चुल्हो ८ सय ५० रुपैयाँमै वितरण गरिएको छ । बाँकी लागत उपमहानगरपालिका र सरोकारवाला निकायले व्यहोरेका छन् ।
खाडी मुलुकहरूमा बढ्दो द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि र आपूर्तिमा समस्या देखिएको सन्दर्भमा यो पहललाई राहत र दीर्घकालीन समाधानको रूपमा हेरिएको छ । सरकारले पनि ग्यासको सट्टा विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गरिरहेकाले उपमहानगरको यो कदमलाई ऊर्जा रूपान्तरणतर्फको महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ ।
स्थानीयवासीले सस्तो मूल्यमा चुल्हो पाउँदा राहत महसुस गरेका छन् भने यसले ऊर्जा निर्भरता घटाउन समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।