काठमाडौ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानलाई तोडमोड गरेर आफ्नो पक्षका मान्छे राख्नु् अराजकता भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा उहाँले डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्दा वरिष्ठताको क्रम मिचिएको भन्दै यसलाई संविधान र कानुनको भावनाविपरीत भएको बताएका छन् । नियम र पद्धति मिचेर गरिने नियुक्तिले सर्वोच्च अदालतजस्तो गरिमामय संस्थाको स्वतन्त्रता र निष्पक्षतामा गम्भीर असर पार्ने उनको चिन्ता छ ।
अध्यक्ष केसीले नेपाली रेडियो नेटवर्कको सोही कार्यक्रममा सहकारी संकटको विषयमा पनि कडा धारणा राखेका छन्। केसीले अनुशासन र सुधारका लागि अरूलाई औंल्याउनुअघि स्वयं आफूबाटै सुरु गर्नुपर्ने कुरामा पनि जोड दिएका छन् । उनले राज्यसत्ताकै आडमा बस्नेहरूले सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै, दोषीहरूलाई कानुनी दायरामा ल्याएर बचतकर्तालाई न्याय दिनुपर्ने माग समेत गरेका छन् ।