Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सर्वदलीय बैठकमा कांग्रेसले भन्यो, ‘सरकारकै गलत क्रियाकलापका कारण सडकमा असन्तुष्टि देखिएको हो’

सर्वदलीय बैठकमा कांग्रेसले भन्यो, ‘सरकारकै गलत क्रियाकलापका कारण सडकमा असन्तुष्टि देखिएको हो’

  • मंगलवार, मंसिर २३ २०७७

  • 1.1K
    SHARES

  • सर्वदलीय बैठकमा कांग्रेसले भन्यो, ‘सरकारकै गलत क्रियाकलापका कारण सडकमा असन्तुष्टि देखिएको हो’

    काठमाडौं । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत क्रियाकलापका कारण जनतामा वितृष्णा जागेको र त्यसकै नतिजास्वरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिन थालेको बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेसले यस्तो बताएको हो ।

    बैठकमा कांग्रेसले सबैभन्दा पहिला सरकार सच्चिने हो भने कतिपय समस्या आफै हल हुने धारणा राखेको छ ।

    बैठकमा कांग्रेसले सरकारको काम कारबाही सहीरुपमा गर्न नसकेको, सरकारबाटै लोकतन्त्र विरोधी गतिविधि भएको, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको, जनभावनाअनुरुप काम गर्न नसक्नु जस्ता कारणले सरकारप्रति नागरिकमा वितृष्णा बढेको निष्कर्ष निकालेको छ । सोही अनुरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिएको उसको ठम्याइ छ ।

    कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले गलत कामम गरेका कारण सडकमा असन्तुष्टि प्रकट भइरहेको बताउनुभयो ।

    ‘देशमा व्यापक असन्तुष्टि छ, त्यसमा दुईमत छैन । सरकारले गलत काम गरेको हुनाले विभिन्न रुपमा त्यसको असन्तुष्टि प्रकट भइरहेको छ’, उहाँले भन्नुभयो, ‘राजावादी वा अरु नाममा सडकमा प्रकट भएको पनि त्यही नै हो ।’

    डा. महतले प्रणाली वा लोकतन्त्रको खराबी नभएर सरकार सञ्चालन गर्नेहरुको खराबीका कारण सडकमा त्यस्तो आक्रोश पोखिएको स्पष्ट पार्नुभयो ।

    बैठकमा कांग्रेस नेताहरुले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडको विरोध गर्नुका साथै संसदको बैठक तत्काल बोलाउन समेत माग गरेका थिए ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी गतिविधिविरुद्ध एकजुट हुन सबैलाई आह्वान गर्नुभएको थियो ।
    यसैबीच, करिब तीन घण्टा लामो सर्वदलीय बैठक सकिएको छ ।

    सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको आजको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।

    देशभर राजावादीहरुको प्रदर्शन हुन थालेपछि प्रधानमन्त्रीले यस विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो ।

    यसअघि नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा कायम रहेको सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ गते पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको थियो ।

     


    मंगलवार, मंसिर २३ २०७७०२:५६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij