काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि सिफारिस गर्नुलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रहितविपरीतको प्रतिगामी कदमको संज्ञा दिनुभएको छ । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै नेता पौडेलले प्रधानमन्त्रीको कदम संविधानविपरीत आएको स्पष्ट पार्नुभएको हो ।
‘प्रधानमन्त्रीको यो कदम संविधानको कदम हो । यो लोकतन्त्र र प्रजातन्त्रको भावनाविपरीत छ’, उहाँले भन्नुभयो, ‘यो राष्ट्रहितविपरीतको प्रतिगामी कदम हो ।’
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको थियो । बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिनुुभएको हो ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद् विघटनको सिफारिस गर्नुुभएको हो । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।