काठमाडौं । आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरसविरुद्धको खोप आउन सक्ने सम्भावना रहेको बताइएको छ ।
हाल विश्वका केही मुलुकले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोनाविरुद्धका खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ ।
विभिन्न मुलुकमा तीव्र रूपमा खोप वितरणसमेत जारी छ । खोप आगामी अप्रिल महिनादेखि नेपालमा पनि आउन सक्ने एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो ।
यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ ।
बेलायतलगायतका मुलुकमा देखा परेको कोरोनाको नयाँ प्रकारको भाइरस छिमेकी मुलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ ।
भारतसहित बेलायत, युरोपेली मुलुक, अमेरिकालगायतका स्थानमा नयाँ प्रकारको भाइरस देखा परेको छ । ती देश तथा स्थानमा बसोबास गर्ने नेपालीहरुलाई पनि सचेत रहन समितिले आग्रह गरेको छ ।