Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाल संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्र राष्ट्र हुनुपर्छ

नेपाल संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्र राष्ट्र हुनुपर्छ

  • विनय यादव
  • आइतवार, पौष २६ २०७७

  • 1.8K
    SHARES

  • नेपाल संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्र राष्ट्र हुनुपर्छ

    नेपालमा अहिले सरकारले नै छद्म धर्मनिरपेक्षताको आडमा हिन्दू संस्कृतिमाथि दमन गर्न खोजिरहेको छ । हाम्रो धर्म–संस्कृति समाप्त पार्ने जुन कुचेष्टा छ, त्यहीअनुसार केपी ओलीको वर्तमान् सरकार चलिरहेको छ । विदेशी धर्म संस्थाहरुले सरकारलाई डलरको लोभ देखाएर हाम्रो धर्म संस्कृतिमाथि प्रहार भइरहेको छ । सरकारले यी कुराहरुलाई सच्याउनुपर्छ । कोरोना भाइरसको बहानामा बन्द गरिएका सबै हिन्दू मठमन्दिर र तीर्थस्थल खोलिनुपर्छ । कोभिड–१९ को महामारी छ भने भौतिक दूरी कायम गराएर पूजापाठ गराउने सरकारको जिम्मेवारी हो ।

    नेपालमा विदेशीहरुको विभिन्न खाले चलखेल चलिरहेको कुरा सञ्चारमाध्यमहरुमा आइरहेकै छ । यो सरकारमाथि विदेशी पश्चिमाहरु अथवा बेधर्मीहरुको दबाब छ । एक कम्युनिष्टहरुले आफैमा धर्मलाई मान्दैन । यिनी भन्छन् कि सबै धर्मलाई हामी समान दृष्टिले हेर्छौं तर खोई यहाँ समान दृष्टिले हेरेको त ? यदि समान दृष्टि भएको भए कोरोना महामारी हुँदा पनि चर्च खोल्न पाउने, मस्जिद खोल्न पाउने, पार्टीको कार्यक्रम गर्न पाउने, केपी ओलीको पक्षमा नारा जुलुस गर्न पाउने तर हिन्दूहरुको मठमन्दिरहरु खोल्न नपाउने यो कस्तो धर्मनिरपेक्षता हो ? कम्युनिष्ट सरकारको यो दोहोरो चरित्र हो । धर्मनिरपेक्षताको नाममा हिन्दूलाई अपमानित गर्ने, संस्कृतिलाई समाप्त पार्ने यो षड्यन्त्र हो ।

    संविधान जारी हुँदा म आफैले संविधानमा रहेको धर्मनिरपेक्षता बुँदालाई सडकमा जलाएको थिएँ । त्यहीं बेलादेखि नेपाल पुनः हिन्दू राष्ट्र कायम गराउनका निरन्तर आन्दोलनमा छु । देश संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्र राष्ट्र हुनुपर्छ । किनभने यो देशको जुन सनातन पहिचान हो त्यसलाई मासेर हुँदैन, त्यो पहिचानलाई हामी विश्व सामु पु¥याउन सक्यौं विश्वभरिका एक अर्ब हिन्दूहरुको तीर्थस्थल बन्न सक्छ । त्यसबाट हाम्रो देशको आय स्थिति सुध्रिन्छ । अर्को कुरा यहाँको हिन्दुत्व राष्ट्रियतासँग जोडिएको विषय हो । हिन्दुत्व नै यो देशको राष्ट्रियता हो । आफ्नो संस्कृति छोडेर कुनै पनि देश अगाडि बढ्न सकेको छैन । जुन–जुन देश आफ्नो संस्कृति गुमाए, ती आज कंगाल भएका छन् । नेपाल पनि त्यो बाटोमा नजाओस् । गणतन्त्र दुनियाँको सबभन्दा राम्रो व्यवस्था हो । त्यसकारण हामी संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्र राष्ट्रको परिकल्पना गर्छौं । विश्वसामु यहाँको संस्कार, संस्कृति र परम्पराहरुलाई चिनाउँछौं ।


    (यादव राष्ट्रिय एकता अभियानका संयोजक हुन् ।)

    (मधेश दर्पण फिचर सेवा)

     


    आइतवार, पौष २६ २०७७१२:४७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij