काठमाडौं । नेकपाको दुबै समूहले सत्ता साझेदारीसहित सहकार्यको अफर गरे पनि तत्काललाई कांग्रेस तटस्थ बस्ने भएको छ ।
कांग्रेसले सहकार्यका लागि पहिला नेकपा विभाजनको आधिकारिकता खोजेको छ । संसद् विघटनसँगै प्राविधिक रुपमा विभाजित नेकपाको वैधानिकताको कानुनी लडाँइ निर्वाचन आयोग पुगेको छ ।
नेकपाको ओली र दाहाल–नेपाल दुवै समूहले सहकार्यको प्रस्ताव ल्याए पनि कांग्रेस सभापति शेरबहादुर देउवा भने फुटको आधिकारिकता नभइन्जेल औपचारिक रुपमा कसैसंग पनि सहकार्यको निर्णय नलिने तयारीमा हुनुहुन्छ ।
संसद् विघटनपछि दाहाल–नेपाल समूहले सडक संघर्षमा सहकार्यको प्रस्ताव गरे पनि कांग्रेसले एकल आन्दोलन गरेको छ । संसद् विघटनपछि सम्भावित समीकरणलाई लिएर नेकपाको दाहाल–नेपाल समूहसंग देउवाले बुधबार पहिलो भेटवार्ता गर्नुभएको थियो ।
छलफलमा दाहाल–नेपाल समूहले संसद् विघटनविरुद्ध संयुक्त संघर्षदेखि देउवा नै प्रधानमन्त्री बन्ने गरी सत्ता–सहकार्यको प्रस्ताव गरेका थिए ।