काठमाडौँ –प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।
केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो।
३० गते काठमाडौँका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसद् विघटनको असंवैधानिक कदमविरुद्ध तेस्रो चरणको आन्दोलन गर्ने निर्णय गरिएको जानकारी दिए ।
उनले माघ १९ गते भ्रातृ संस्थाहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय गरेको बताए ।
प्रवक्ता शर्माका अनुसार माघ २४ गते शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै माघ ३० गते जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय गरिएको शर्माले जानकारी दिए ।