काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउने अभियान सुरु भएको तीनभित्रै खोपका ‘साइड इफेक्ट’ देखिन थालेको छ ।
खोप लगाएकामध्ये केहीलाई सामान्य असर देखा परेको हो । कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये एक जनामा गम्भीरखालको स्वास्थ्य समस्या देखिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश वीरेन्द्रनगरका निर्देशक डा. रोविन खड्काले बताउनुभयो । त्यहाँ तीन दिनको अवधिमा खोप लगाएकामध्ये २६ जनालाई सामान्य खालको स्वास्थ्य समस्या देखिएको उहाँको भनाइ छ ।
यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पहिलो दिन खोप लगाएकामध्ये २९ स्वास्थ्यकर्मीसँग सोधपुछ गर्दा २३ जनामा सामान्य खालको स्वास्थ्य समस्या देखिएको डा. अनुप बाँस्तोला बताउँछन् ।
यता, त्रिवि शिक्षण अस्पताल टिचिङमा एकजना स्वास्थ्यकर्मीलाई खोप लगाउनेबित्तिकै अनुहारमा डाबर आएको थियो भने केही स्वास्थ्यकर्मीमा सामान्य समस्या देखिएको अस्पतालका फोक्सो रोग विशेषज्ञ डाक्टर सन्तकुमार दासले बताए ।