काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगमा नीतिगत सुधार गर्नुपर्ने देखिएको बताउनुभएको छ ।
जनशक्तिको क्षमता अभिवृद्धि, ऐन नियमको संशोधन गरेर आयोगलाई नयाँ उचाईमा लैजाने योजना रहेको उहाँले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा राईले भन्नुभयो,“आगामी दिनमा आउने विविध प्रकारका चुनौतिहरुको सामना गर्दै देशमा सुशासन कायम गर्नुपर्छ, मेरो नेतृत्वले अब विगतमा आयोगले गरेका काम कार्वाहीलाई नै प्राथमिकता दिन्छ ।”
उहाँले कर्मचारीलाई सवल बनाउन नेतृत्वकर्ताको मुख्य भूमिका रहने गरेकोे बताउदैैँ नेतृत्वकर्तालाई बढी सुशासनको पाठ सिकाउनु पर्ने पनि जिकिर गर्नभएको छ ।
राजनीतिक नेतृत्वकर्तामा पनि कानुनी ज्ञानको कमी देखिएको राईको धारणा छ । राजनीतिज्ञहरुले पनि कानुन र ऐन नियम पढ्न जरुरी देखिएको उहाँको भनाइ छ ।
फरक प्रसंगमा उहाँले भन्नुभयो,“खोला, नाला, सार्वजानिक जग्गालाई नियमन गर्ने निकायहरुले त्यस्ता जग्गा दर्ता गर्ने प्रकृयालाई विधिसम्मत तवरले गर्ने हो भने मात्रै हाम्रा प्राकृतिक सम्पदाको संरक्षण गर्न सकिन्छ, अहिले अनियन्त्रित तवरबाट उत्खनन् रोक्न सम्बन्धित निकायले सिफारिस गरेमा कार्वाहीको प्रकृया हामी अगाडी बढाउछौँ ।”
राईले भ्रष्टाचार न्यूनिकरणको लागि आफूहरुले जतिसक्दो पहल गर्ने आश्वासन पनि दिनुभएको छ ।