Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमाले विभाजन नजिक

एमाले विभाजन नजिक

  • बुधवार, चैत्र ४ २०७७

  • 1.4K
    SHARES

  • एमाले विभाजन नजिक

    काठमाडौँ – प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले गुटको भेलामा सहभागी नहुन दिएको चेतावनीलाई लत्याउँदै नेकपा एमालेको माधव नेपाल समूहको भेलामा उत्साहजनक रुपमा नेता कार्यकर्ताहरु सहभागी भएका छन्।

    दुई हजार नेता कार्यकर्ता सहभागी हुने भनिएको भेलामा झण्डै पाँच हजार नेता कार्यकर्ता उपस्थित भएको दाबी माधव समूहले गरेको छ।

    दुई दिनसम्म चल्ने भेलाको पहिलो दिन आज सम्बोधन गरेका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको जमेर आलोचना गरेका छन् । उनीहरुले कम्युनिष्ट एकता भंग गर्ने काम केपी ओलीबाट भएको आरोप लगाए ।

    वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीमा देखिएको अहंकारले पार्टीमा समस्या श्रृजना गरेको बताउनुभयो । हिजो जबज त्याग गर्दा सामान्य अडान समेत नलिने ओलीले अहिले आफूलाई मदन भण्डारीको हिमायती ठान्नु नै समस्याको जड रहेको नेपालले बताउनुभो ।

    भेलाको अध्यक्षता गर्नुभएका वरिष्ठ नेता झलनाथ खनालले गुटको राजनीति गरेर केपी ओलीले नै कम्युनिष्ट एकतालाई भंग गरेको आरोप लगाउनुभयो ।

    भर्खरै एकजुट भएका नेता कार्यकर्तालाई मिलाएर लैजाने जिम्मेबारी निर्वाह गर्नुको साटो मदन भण्डारी फाउण्डेसनका नाममा गतिविधि गरेर ओलीले पार्टीलाई विसर्जनतर्फ लगेको उहाँले आरोप लगाउनुभयो । ओलीकै कारण माओवादी केन्द्रसँगको एकता भंग भएको खनालको आरोप छ ।

    भेलामा सहभागी भए कारबाही गर्ने केपी ओलीको चेतावनीप्रति नेताहरुले आक्रोश पोखेका थिए । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूहरुले गुटको नभई एमालेको भेला आयोजना गरेकोले कसैको धम्कीबाट नडराउन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

    उहाँले फागुन २८ गते गुटको भेला गरी गरिएका निर्णय खारेज गरेर अहिले आयोजना भइरहेको एमालेको भेलामा सहभागी हुन प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो ।

    हिजो प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले गुटको भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई चेतावनी दिनुभएको थियो । एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरेर भेलामा सहभागी भए पार्टीको विधान बमोजिम कारबाही हुने चेतावनी पनि दिनुभएको थियो ।

    तर पार्टी अध्यक्ष र महासचिवको चेतावनी लत्याउँदै माधव समूहको भेलामा उल्लेख्य सहभागिता जुटेपछि एमालेको ओली समूहले यसलाई निराशाजनक घटनाका रुपमा व्याख्या गरेको छ।

    प्रधानमन्त्री ओली निकट नेता गोकुल बाँस्कोटाले माधव समूहले भेलामार्फत आफ्ना असहमति प्रकट गरे पनि समग्रमा यो भेलाले पार्टी पंक्तिमा निराशा पैदा गरेको टिप्पणी गर्नुभयो ।

    माओवादी केन्द्र र एमालेको एकीकरण बदर गर्ने सर्वाेच्चको फैसलापछि माधव नेपाल समूहले एमालेमै रहेर ओलीप्रवृत्तिविरुद्ध संघर्ष गरेर अघि बढ्ने बताएको थियो ।

    तर गत फागुन २८ मा ओलीले माधव समूहलाई जानकारी नै नदिएर बोलाइएको केन्द्रीय कमिटि बैठकमार्फत माधव समूहमा रहेका नेताहरुको जिम्मेबारी खोस्ने निर्णय गरेपछि एमाले विभाजन नजिक पुगेको छ ।

    माधव समूहका नेताहरुले फाुगन २८ को निर्णय बदर भए मात्रै ओलीसँग मिलेर जान सकिने बताइरहेका छन् ।

    तर ओलीले आफूलाई पटक–पटक पार्टीको साधारण सदस्यबाट समेत निकालेको घोषणा गर्नेहरुसँग झुक्न तयार नरहेको बताएपछि एमाले फुट नजिक पुगेको विश्लेषण हुन थालेको छ ।


    बुधवार, चैत्र ४ २०७७०७:४४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij