काठमाडौँ – आफूसहित समूहका चारजना नेतालाई अनुशासनको डण्डा चलाएपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति थप आक्रामक बन्नुभएको छ ।
हिजो एमाले महासचिव ईश्वर पोखरेलले अनुशासन उल्लंघन गरेको भन्दै नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्नुभएको थियो।
सर्वाेच्चले नेकपा एकता बदर गरेपछि ब्युतिँएको एमालेभित्र सुरु भएको अन्तरद्वन्द्व स्पष्टीकरण प्रकरणले थप चर्काे भएको छ ।
नेपाल समूहसम्वद्ध विद्यार्थीहरुले गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता नेपालले केपी ओलीको कथित स्पष्टीकरणबाट आतंकित नभएको बताउँदै त्यसको सामना गर्न तयार रहेको बताउनुभयो।
तत्कालीन राजा वीरेन्द्र, राजा ज्ञानेन्द्रका साथै कांग्रेसका नेताहरुसँग डिल गरेको, विदेशीका दबावसामु नझुकेको र पार्टीमा आएका हरेक सामस्या सामना गरेर आफू यहाँसम्म आएको बताउँदै उहाँले ‘कस्ता कस्ता कहाँ आए, केपी ओली मेरो सामुन्नेमा भन्दै सामनाका लागि तयार रहेको बताउनुभयो।
नेता नेपालले ओलीको चुरीफुरी प्रधानमन्त्री पदबाट हटेसँगै समाप्त हुने दाबी गर्नुभयो ।
आक्रामक भाषण गर्नुभएका नेता नेपालले वास्तविक एमाले आफूहरु भएको बताउँदै केपी ओली विमाले सिमाले रहेको बताउनुभयो । उहाँले जालझेल गरेर केपी ओलीले पार्टी कब्जा गरे भने विचार गर्ने बताउँदै एमाले आफूहरुको रहेको बताउनुभयो ।
उहाँले एमाले नभई विमाले सिमाले रहेका ओलीले पार्टी छाडेर गए हुने बताउनुभयो ।
सर्वाेच्चको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्रका केही बाहेक सबै नेताहरु आ–आफ्नो पूरानो गुँडमा फर्केका छन् । नेकपामा रहँदा प्रचण्डसँग मिलेर प्रधानमन्त्रीलाई अल्पमतमा पारेको माधव समूहले एमालेमै रहेर ओलीप्रवृत्तिविरुद्ध लड्ने घोषणा गरेको थियो ।
त्यसमा बल पुग्ने गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव समूहले एमाले कब्जा गर्ने रणनीति लिएको बताएपछि ओली समूह सशंकित छ ।
प्रचण्डको मतियार बनेर पार्टीमा फर्कको भन्दै ओलीले माधव समूहलाई रोक्न खोजेका छन् । आफूलाई ठेगान लगाउन एमालेमा फर्कने चेष्टा गरेको हो भने बाटैमा ठेस लाग्ने चेतावनी ओलीले दिइरहनुभएको छ।
सर्वाेच्चको फैसलाले पार्टी पूरानै अवस्थामा फर्किसक्दा समेत माधव नेपालहरुले प्रचण्डसँग साँठगाँग गरेको आरोप ओली समूहले लगाइरहेको छ । तर वरिष्ठ नेता नेपालले आफू भएको भए बेडमै गएर किन रिसाउनुभएको कमरेड भनेर सोध्ने थिएँ भनेर सहमतिका लागि तयार रहेको संकेत अध्यक्ष ओलीलाई दिए पनि त्यसको वास्ता ओलीले गरेको देखिँदैन ।
ओली बरु पार्टी विभाजन भए स्वीकार्न तयार तर आफूलाई साधारण सदस्य समेत नरहने गरी कारबाहीको घोषणा गर्नेसँग बदला नलिएर नछाड्नेमा मुडमा रहेको उहाँका क्रियाकलापहरुले देखाइरहेको छ जुन एमालेको भविष्यका लागि सुखद पक्ष होइन ।