काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगका खुसामत बन्द गर्न नेकपा नेता माधवकुमार नेपाल र डा.भीम रावललाई आग्रह गर्नुभएको छ ।
उहाँले प्रचण्डसँग गोप्यरुपमा भेटेर सरकारविरुद्ध भइरहेका खुसामत रोकेर पार्टीको महाधिवेशनले चयन गरेको नेतृत्व र विधिको पालना गर्न आग्रह गर्नुभएको हो ।
थापाले देश, जनता र पार्टीविरुद्धका आपराधिक क्रियाकलाप छोड्न सचेत गराउन नेता नेपाल र डा.रावललाई साधारण सदस्यबाट ६ महिनाको लागि निलम्बन गरिएको स्पष्ट पार्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले पार्टी एकताको मुलमन्त्रमा फर्किन, पार्टीको विधान र प्रक्रियाअनुसार चल्न सचेत गराउनका लागि दुई नेतालाई कारवाही गरिएको दावी गर्नुभयो ।
स्पष्टीकरण सोधेर विधि, पद्धती र प्रक्रिया पूरा गरेर नै नेता नेपाल र रावललाई साधारण सदस्यबाट ६ महिनाको लागि निलम्बन गरिएको उहाँले स्पष्ट पार्नुभएको छ ।
फरक प्रसंगमा रिपोर्टर्स क्लब नेपालले बितेका २३ वर्षमा नेपाली समाजको निस्वार्थरुपमा सेवा गरेको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले आगामी दिनमा पनि समाज रुपान्तरणको माध्यम बन्ने बिश्वास व्यक्त गर्नुभयो ।