काठमाडौँ – नेपालका बालबालिकाहरुमा कोरोना भाइरस संक्रमणको दर उच्च हुँदै गएको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता बालबालिकाहरु संक्रमित हुने क्रम उच्च हुँदै गएको हो ।
अहिले अस्पतालहरुमा कोरोना संक्रमित बालबालिकाहरु भर्ना हुने दर बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।
काठमाडौँको कान्ति बाल अस्प्तालका निर्देशक डा. आरपी बिच्छाले १८ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु कोरोना संक्रमित भएर अस्पताल भर्ना हुने दर उच्च हुँदै गएको बताउनुभयो ।
डा. बिच्छाका अनुसार अहिले दैनिक संक्रमित हुने मध्ये १० प्रतिशत भन्दा धेरै बालिबालिकाहरु छन् । त्यसमा पनि बेलायती प्रजातीको भाइरसको संक्रमण देखिनु झनै चिन्ताजनक अवस्था रहेको कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी बिच्छाले बताउनुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले पनि बालबालिकाहरुमा कोरोना संक्रमण हुने दर तीव्र गतिमा बढिरहेको बताउनुभयो । पछिल्लो दुई दिन यताको तथ्याङ्क हेर्ने हो भने १ सय जना १७ वर्ष मुनीका बालबालिकाहरुमा कोरोना संक्रमण देखिएको छ ।
कुल संक्रमित मध्ये मंगलबार ४८ जना र बुधबार ५२ जना १७ वर्ष मुनीका बालबालिकामा कोरोना संक्रमण देखिनु अत्यन्त चिन्ताजनक अवस्था रहेको डा. पौडेलको भनाइ छ ।
विद्यालयहरुमा जनस्वाथ्य मापदण्डको पालना हुन नसक्दा विद्यार्थीहरुमा जोखिम बढेको उहाँले दाबी गर्नुभयो ।
अधिकांश विद्यालयहरुको अवस्था हेर्दा जति प्रयास गरिए पनि संक्रमणको जोखिमबाट बालबालिकालाई जोगाउने अवस्था नरहेको डा. पौडेलको जिकिर छ ।
शिक्षण संस्था कोरोनाको हटस्पट बनेको भन्दै डा. पौडेलले लकडाउन गर्नुपर्ने परिस्थिति आउन नदिनेतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।
नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको बताउँदै उहाँले स्वास्थ्य सावधानी नअपनाए कठिन परिस्थिति आउन सक्ने चेतावनी दिनुभयो । कोरोना संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न नसकिने ठाउँमा जानै नहुने डा. पौडेलको सुझाव छ ।
बालबालिकाहरु संक्रमणको चपेटामा पर्नुको सबैभन्दा ठूलो कारण विद्यालय नै रहेको चिकित्सकहरुले बताएका छन् । कान्ति बाल अस्पतालका निर्देशक डा. बिच्छाले विद्यालयमा जनस्वास्थ्यका मापदण्डको पालनामा गरिएको हेलचेक्राईकै कारण बालबालिकामा संक्रमण बढेको बताउनुभयो ।
उहाँले बालबालिकाहरुमा रोगप्रतिरक्षा क्षमता कमजोर हुने भएकोले लापर्वाही नगर्न सुझाव दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको चेन ब्रेक गर्न कम्तीमा एक महिना विद्यालय बन्द गरिनुपर्ने सुझाव सरकारलाई दिइसकेको छ । तर अहिलेसम्म सरकारले यसबारे कुनै निर्णय लिएको छैन ।
केही विद्यालय सञ्चालकहरुले भने जनस्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्ने वातावरण बनाउन तर शिक्षण संस्था बन्द नगर्न सरकारलाई चेतावनी दिइरहेका छन् ।