काठमाडौं । सरकारले सोमबार (आज) र मंगलबार (भोलि) बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दै छ ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने छ ।
आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अभिभावकलाई आग्रह गरेको छ ।
सरकारले हरेक वर्ष बालबालिकालाई राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने गर्दै आएको छ । अघिल्लो पटक खाएकालाई अहिले पनि खुवाउनु पर्ने मन्त्रालयल जनाएको छ ।
यस वर्ष कोरोनाभाइरस संक्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न गराउन मन्त्रालयले आग्रह गरेको छ ।
वितरण केन्द्रमा भिडभाड नगर्न, एक व्यक्ति र अरु व्यक्तिबीच कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्न, अनिवार्य रुपमा मास्क प्रयोग गर्न, साबुन पानीले पटक पटक हात धुन वा सेनिटाइजर प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।