काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज दोस्रो दिन पनि वार्ता भएको छ।
नागपोखरीस्थित मेरियट होटलमा बिहीबारको वार्ता करिब डेढ घण्टा चलेको थियो । वार्ता सकिएलगत्तै ओली होटलबाट बाहिरिनुभएको थियो भने माधव नेपाल प्रधानमन्त्रीका आर्थिक सल्लाकार मोतिलाल दुगडसँग छलफलमा जुट्नुभएको थिया] । दुगडले नेताद्वयबीचको वार्ताको व्यवस्थापन मिलाउनुभएको बताइन्छ ।
सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै दुगडले भन्नुभयो, ‘तपाईंहरू अनुमान लगाउन सक्नुहुन्छ । यो घाउ एक दुई ओटा वार्तामा टुंगिदैन । यो वार्ता हिजोभन्दा आज सकारात्मक भयो । आजभन्दा भोलि सकारात्मक हुने छ । सौहार्दपूर्ण वातावरणमा वार्ता भयो । पार्टीलाई टुट्न दिनु हुन्न यही विषयमा छलफल भएको छ ।’
वार्ता सकिएपछि माधव नेपालले मसँग चिया खाउँ भनेकोले केही क्षण चिया पिएर बसेको दुगडले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उहाँले चियामा अलिकति चिनी कम भयो भनेर थप्नुभयो । अरु कुरा भएन । तर, उहाँको स्पष्ट धारणा के छ भने म यो पार्टीलाई टुटाउने पक्षमा छैन । यो पार्टीलाई जोडेरै जान्छु भन्नुभएको छ।’
यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीसँग भएको वार्तामा विवाद समाधानबारे कुनै प्रगति नभएको बताउनुभएको छ ।
संवाददाताहरुमाँझ उहाँले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘कुराकानीमा कुनै प्रगति भएको छैन।’
नागपोखरिस्थित होटल मेरियटमा आज दोस्रो दिनको वार्तापछि बाहिरिनुभएका नेता नेपालले सञ्चारकर्मीसँग सक्षिप्तमात्र प्रतिक्रिया दिनुभएको हो ।
टाढैबाट हात हल्लाउँदै नेपालले भन्नुभयो, ‘ म बोल्दिनँ, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन ।’
डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो ।
त्यसको भोलिपल्ट आज पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ ।
भेटवार्ताकै क्रममा दुई नेताले कोठाको झ्यालबाट धरहरा नियालिरहेको तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गर्नुभएको छ ।
तर वार्तामा कुनै प्रगति नभएको नेता नेपालले बताउनुभएको हो ।