काठमाडौँ – नेकपा एमालेको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लगातार दोस्रो दिन भएको भेटवार्ता बिनानिष्कर्ष टुंगिएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष ओलीसँग भएको वार्तामा कुनै प्रगति नभएको संवाददाताहरुलाई संक्षिप्त प्रतिक्रिया दिनुभयो ।
नागपोखरिस्थित होटल मेरियटमा आज दोस्रो दिनको वार्तापछि बाहिरिनुभएका नेता नेपालले सञ्चारकर्मीसँग सक्षिप्तमात्र प्रतिक्रिया दिनुभएको हो । टाढैबाट हात हल्लाउँदै नेता नेपाल ‘म बोल्दिनँ, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन’ भन्दै गाडीतर्फ प्रस्थान गर्नुभयो ।
श्रोतका अनुसार वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीसँगको वार्ता हिजो भन्दा आज झनै तिक्ततापूर्ण रहेको बिफ्रिङ निकट नेताहरुसँग गर्नुभएको छ । केही नेताहरुलाई ओलीसँगको वार्ता सकारात्मक नरहेको बताएर नेता नेपाल जनकपुर जानुभएको छ।
यसैबीच एमालेका वरिष्ठ नेता नेपाललाई जनकपुर विमानस्थलमा माओवादी नेताले स्वागत गरेका छन् । काठमाडौँमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफललगत्तै जनकपुरधाम पुग्नुभएका नेता नेपाललाई एमालेसँगै माओवादी नेताले पनि स्वागत गरेका हुन् ।
माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा र रामकुमार शर्मा नेता नेपाललाई स्वागत गर्न फुलमाला बोकेर विमानस्थल पुग्नुभएको थियो । विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले अध्यक्ष ओलीसँग कुनै सहमति नभएको बताउनुभयो । ‘अब कसरी अगाडि बढ्नेबारे पछि भन्छु,’ उहाँले भन्नुभयो ।
तर यता प्रधानमन्त्रीको आर्थिक सल्लाहहकार मोतिलाल दुगडले भने दुई नेताबीचको वार्ता सकारात्मक रहेको दाबी गर्नुभयो । पार्टीमा गहिरो घाउ भएको बताउँदै उहाँले एक दुईवटा वार्ताले मात्रै विवादको घाउ नपुरिने बताउनुभयो ।
उहाँले दुवै नेताले एमाले विभाजन हुन नदिने अठोट गर्नुभएको दाबी गर्नुभयो । डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबारदेखि नेता नेपाल र अध्यक्ष ओली वार्तामा बस्नु मात्रै पनि सकारात्मक पक्ष रहेको विवाद समाधानका लागि भूमिका खेलिरहेका नेताहरु बताइरहेका छन् ।
तर दुवै समूहले कारबाही र समानान्तर गतिविधिको श्रृङ्खला स्थगित नगरेपछि एमाले विभाजन तत्काल रोकिने सम्भावना नजिकै देखिएको छैन । प्रधानमन्त्री ओलीले पार्टी हितका लागि सबै कुरा बिर्सेर वार्ताको पहल गरिएको कुरालाई कमजोरी नठान्न चेतावनी दिनुभयो ।
समानान्तर गतिविधि र कारबाहीको श्रृङखलाकाबीच एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएपछि विभाजन रोकिने भयो भन्दै एमाले कार्यकर्ताहरुमा उत्साह छाएको थियो ।
मेरियट होटलमा आज दोस्रो वार्ता चलिरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूूर्य थापाले सामाजिक सञ्जालमार्फत नेता द्वयले होटलको कोठाबाट धरहरा नियालिरहेको तस्बिर सार्वजनिक गरेपछि त झन धेरैलाइ लागको थियो एमाले अब एकतावद्ध भयो, विभाजन रोकियो ।
तर त्यसको केहीबेरमै वार्ता झनै तिक्ततापूर्ण बनेको विषय बाहिर आएपछि एमालेको विभाजन रोकिने भयो भनेर खुशी भएका नेता कार्यकर्ताहरु फेरि निराश बनेका छन् ।