काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टा नबित्दै नेपालमा थप १९ जनाको मृत्यु भएको छ । बाँके, रुपन्देही, कैलाली र कञ्चनपुरमा गरेर थप १९ जना संक्रमितको मृत्यु भएको हो ।
पछिल्लोपटक बाँकेमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । गएराति ८ः५५ बजेदेखि आज बिहान ८ बजेसम्म ८ जनाको मृत्यु भएको थियो ।
आज बिहान पुनः आधा घण्टाको फरकमा थप दुई जनाको मृत्यु भएसँगै पछिल्लो पटक कोरोना संक्रमणबाट बाँकेमा १० जनाको मृत्यु भएको हो ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा कैलालीको टिकापुर नगरपालिका–१ की ५२ वर्षीया महिला र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको आधा घण्टाको फरकमा मृत्यु भएको हो ।
कैलालीकी ५१ वर्षीया महिलाको आज बिहान १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो भने नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा आज बिहान १०ः३० बजे मृत्यु भएको ओलीले बताउनु भयो ।
उता , रुपन्देहीका थप तीन जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा आज बिहान मृत्यु भएको हो ।
बुटवल–११ का ३१ वर्षीय पुरुषको बिहान साढे २ बजे, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान पौने ३ बजे र मायादेवीकी ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
यस्तै कैलालीमा पनि एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिला, अस्पतालको आइसियूमा उपचाररत कैलालीकी लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
यसैबीच, कञ्चनपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। ।
जिल्लाको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको आज बिहान १ बजे, दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको गय राति १२ बजे र भीमदत्त नगरपालिका १८ की ३६ वर्षीया एक महिलाको आज बिहान ७ बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ ।