काठमाडौँ । राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेश सभा सदस्य बन्नु भएका खिमविक्रम शाही विरामी भएको सम्वन्धी घटनाको बारेमा पार्टीले आन्तरिक रुपमा छानविन थालेको छ ।
पार्टी अध्यक्ष चित्र बहादुर केसीले सामान्य तरिकाले अहिलेसम्म हेर्दा शाही नै दोषी जस्तो देखिएपनि पर्याप्त छानविन नभइ निर्णय लिनु उपयुक्त नहुने भएकाले अहिले छानविन भइरहेको नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।
छानविनबाट शाही दोषी रहेको पुष्टि भएका पार्टीले विधान अनुसार कारबाही गर्ने पनि अध्यक्ष केसीले दावी गर्नुभयो ।
पत्रकार ऋषि धमलासँगको अन्तरवार्ताका क्रममा उहाँले भन्नुभयो, घटनाको वास्तविकता के हो भन्ने बारेमा पार्टीले छानविन गर्छ, अनि दोषी देखिए उचित कारबाही पनि हुन्छ ।
अध्यक्ष केसीले दोषीलाई उन्मुक्ति दिने पक्षमा आफु कहिल्यै पनि नरहेको स्पष्ट पार्दै यो घटनाबाट सिंगो पार्टी पंक्ति लज्जित र दुखि भएको पनि उल्लेख गर्नुभयो ।
गत बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्का विरुद्धमा अविश्वासको प्रस्ताव माथी मतदान हुने बेलामा बाग्लुङ्बाट निर्वाचित जनमोर्चाका प्रदेश सभा सदस्य खिमविक्रम शाही पार्टी तथा संसद सचिवालयलाई कुनै जानकारी नदिई अस्पताल भर्ना हुनुभएको थियो ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएको भन्दै अस्पतालमा आइसियुमा भर्ना भएपनि उहाँ सङ्क्रमित भएको र गम्भीर विरामी भएको आधार भने नदेखिएपछि सर्वत्र आलोचना भएको छ ।