काठमाडौं । नेकपा (एमाले)को लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ ।
आज बिहान बुटवलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको प्रदेशसभा सदस्य लीला गिरीले जानकारी दिनुभएको छ । पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका दुई जना सांसद पनि सहभागी हुनुभएको थियो ।
आज बिहान मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हो । वैशाख ६ मा विपक्षी दलहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि हठात् प्रदेशसभा अधिवेशन अन्त्य गरेका मुख्यमन्त्री पोखरेलले प्रदेश सभाको विशेष अधिवेशन सुरू हुने दिन बिहानै राजीनामा बुझाउनुभएको हो ।