काठमाडौं । औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल रेम्डेसिभिर खरिदको लागि विभिन्न कम्पनीहरुलाई अनुमति दिएको छ । कोभिड – १९ का गम्भीर बिरामीलाई प्रयोग हुने औषधि रेम्डेसिभिर तीन हजार भाइल आज नेपाल (काठमाडौँ) आइपुग्ने औषधि विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिनुभएको छ ।
‘हाम्रो मेडी कन्सर्नले बेक्सिम्को बंगलादेशबाट ल्याउन अनुमति पाएको २० हजार भाइलमध्ये आज तीन हजार भाइल रेम्डेसिभिर काठमाडौँ आइपुग्नेछ’, उहाँले भन्नुभयो ।
कोरोना भाइरस संक्रमित गम्भीर बिरामीको संख्या बढ्दै गएपछि रेम्डेसिभिर औषधिका कालोबजारी बढ्नुका साथै माग पनि ह्वात्तै बढेको छ । यद्यपि, रेम्डेसिभिर औषधिको माग बढेपछि संक्रमित बिरामीमा खासै सकारात्मक प्रभाव नपारेको अध्ययनहरुले देखाएको छ ।
यस्तै बुधबार पनि चार हजार भाइल रेम्डेसिभिर औषधि नेपाल आइपुग्ने प्रवक्ता केसीले जानकारी दिनुभयो । विभागले कोभिडकै बिरामीलाई प्रयोग हुने अर्को इन्जेक्सन टोसिलीजुमाव पनि आयात गर्न अनुमति दिएको छ ।