काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो शीतल निवास पुगेका छन् ।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर जसपाका दुई नेता ठाकुर र महतो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । शीतल निवासमा नयाँ सरकार गठन र जसपाको भूमिकाका विषयमा छलफल हुने जसपाका एक नेताले बताए ।
मंगलबार प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत गुमाएसँगै राष्ट्रपति भण्डारीले संविधान धारा ७६ (२) अनुसार गठबन्धन सरकारका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपतिले दिएको समयसीमा बिहीबार सकिँदैछ ।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आफ्नो पक्षमा बहुमत जुटाउन लागिपर्नुभएको छ ।
यद्यपि, जसपाको ठाकुर र महतो समूहले कांग्रेस सभापति देउवा नेतृत्वमा नयाँ सरकार बनाउन भइरहेको गठबन्धनमा संलग्न नहुने घोषणासँगै गठबन्धन सरकार नबन्ने सम्भावना बढेको छ । यस्तो अवस्थामा पुनः ओलीकै नेत्तृत्वमा सरकार गठन हुने सम्भावना बढेको विश्लेषण गरिएको छ ।
सोहीबमोजिम जसपाका दुई नेता राष्ट्रपतिलाई भेट्न शितल निवास गएको बताइएको छ ।
जसपा नेताहरुका अनुसार बालुवाटरमा प्रधानमन्त्री ओलीसँग मधेश मुद्दा सम्बोधनबारे कुराकानी भएको थियो । रेशम चौधरीको रिहाइ तथा मुद्दा फिर्ताका सम्बन्धमा अहिले अदालत बन्द छ, खुलेपछि पहल गर्छु भन्ने आश्वासन ओलीले दिएको ठाकुरनिकट एक नेताले बताए ।
ओलीलाई भेट्नुअघि अध्यक्ष ठाकुरले पार्टीका नेता डा. बाबुराम भट्टराई, उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेको बताइएको छ ।