काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्वकप क्रिकेट लिग–२ अन्र्तगत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा हुने पक्का भएको छ । यसअघि जुलाईमा स्कटल्याण्डमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले सिरिज स्पेनमा हुने पक्का जस्तै भएको बताउनुभयो ।
‘आइसिसीबाट आधिकारिक रुपमा पत्र आएको छैन । त्यसैले, क्यानको तर्फबाट पक्का भन्न मिल्दैन तर पक्का जस्तै हो’, उहाँले भन्नुभयो ।
लिगअन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
लिग–२ अन्तर्गतकै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो । ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका थियो ।