काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा सर्वदलीय बैठक शुरु भएको छ । संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुरु बैठकमा विपक्षी गठबन्धनका नेताहरु सहभागि छन् ।
प्रतिनिधिसभा विघटनपछिको विकसित राजनीतिक घटनाक्रमको सम्बन्धमा छलफल गर्न भन्दै बोलाइएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा जाने कार्यक्रम नभएको बालुवाटारनिकट स्रोतले जानकारी दिएको छ । बैठकमा हालै सरकारमा गएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहका नेताहरु पनि उनुपस्थित छन् ।
बैठकका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधवकुमार नेपाललगायत छन् ।
संसद् विघटनपछिको अवस्थाबारे बैठकमा छलफल भइरहेको बताइएको छ ।
सभामुख सापकोटाले पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेतालाई बैठकमा बोलाउनुभएको थियो ।
सभामुखले प्रधानमन्त्री ओलीलाई पत्र पठाएर बैठकमा सहभागि जनाउन आग्रह गरेको बताइएको छ ।
प्रधानमन्त्रीसँग परामर्श नगरी त्यस्तो बैठक राखिएकोमा भन्दै ओलीले असन्तुष्टि जनाएको बालुवाटार स्रोतले जनाएको छ ।