काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले आागामी महाधिवेशमा सभापतिमा फेरि लड्ने बताउनभुएको छ । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गर्नुभएको छ ।
देउवाले आज बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग आफ्नै निवास बूढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताउनभुएको हो ।
‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भन्नुभयो ।
साथै देउवाले पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको बताएको ती केन्द्रीय सदस्यले बताउनुभयो ।
यसअघि पाँच वर्षअघि भएको महाधिवेशनमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै सभापतिमा जित्नुभएको थियो ।