काठमाडौँ – वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन ओलीका दूत बनेर नेपाल निवास कोटेश्वर पुगेका एमाले संस्थापन समूहका नेताहरु रित्तै फर्केका छन् ।
विपक्षी गठबन्धनबाट माधव समूहलाई फिर्ता गराउने प्रयासस्वरुप प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेललाई नेपालसँग वार्ताका लागि खटाएका थिए।
तर आफ्नो निवासमा आएका ओलीसमूहका नेताहरुलाई नेपालले रित्तै फर्काएका छन् ।
संसद विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै बुझाइएको रिटबाट हस्ताक्षरमा फिर्ता नलिनेहरु एमाले नरहने चेतावनी दिँदै आएका अध्यक्ष ओलीले नेता नेपालसँग वार्ताका लागि दूत खटाएका थिए।
हस्ताक्षर फिर्ता नलिए नेपाल पक्ष एमाले रहन नसक्ने, पार्टी फुटको घोषणा हुने जस्ता चेतावनी दिइरहेका ओलीले आज बिहान नेम्वाङ, पोखरेल र पौडेललाई नेपाल निवास कोटेश्वर पठाएका हुन्।
तर नेपालले ओलीसँग सम्झौताका लागि कुनै लचकता नदेखाएको नेता विष्णु पौडेलले बताउनुभयो । उहाँका अनुसार नेता नेपालले प्रधानमन्त्री समेत रहेका ओलीसँग भेटका लागि समेत रुचि देखाउनुभएन।
कोटेश्वरस्थित निवासमै पुगेर उनीहरुले नेपाल र घनश्याम भुसालसँग करिव एक घण्टा छलफल गरेका थिए। तर नेपालले आफ्नो समूहले ओलीले दिएको निर्देशन अनुसार हस्ताक्षर फिर्ता गर्ने सम्भावना नरहेको अडान नेम्वाङ, पोखरेल र पौडेलमार्फत ओलीसमक्ष व्यक्त गर्नुभएको छ।
नेपाल पक्षका नेता गोकर्ण विष्टले एकताको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला ओलीपक्षबाट भएका पछिल्ला निर्णयहरुले धरापमा पारेको बताउनुभयो ।
आफूहरु एकताको प्रस्तावलाई अन्तिम रुप दिन लागिपरेका बेला अध्यक्ष ओलीबाट त्यसलाई भाँड्ने खेल भएको उहाँको आरोप छ ।
यसैबीच नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म एकताका लागि गरिएका जुनसुकै प्रयत्नहरु सफल नहुने ठोकुवा गर्नुभएको छ ।
माधव नेपाल र केपी ओली एकअर्कासँग बेस्सरी रिसाएकाले उनीहरुको रिस शान्त नभएसम्म एकताका प्रयासहरु सफल नहुने गौतमले संवाददाताहरुसँग बताउनुभएको हो । उहाँले दुवै नेताको रिस शान्त नभएसम्म मातहतमा रहेर एकताका लागि काम गरिरहेका नेताहरुको प्रयत्न पनि काम नलाग्ने बताउनुभयो ।
अहिले दुवै समूहका नेताहरु एकताका लागि प्रयासरत छन् । तर मुल नेतृत्वमा रहेको रिस नमरेसम्म मातहतमा रहेका नेताहरुको प्रयत्न काम नलाग्ने गौतमले बताउनुभयो । नेता गौतमले आफूले दुवै नेतामा व्याप्त रिसलाई हटाएर एमालेलाई एकतावद्ध पार्न बताउनुभयो ।
एमालेलाई एकतावद्ध पार्नकै लागि आफू ओली समूहतिर आएको पनि गौतमले घोषणा गर्नुभयो । संसद विघटन सम्बन्धी मुद्दाको फैसला आएपछि पार्टी एकताको सम्भावना बढ्ने उहाँले बताउनुभयो ।
अहिले संसद विघटनविरुद्धको मुद्दा सर्वाेच्च न्यायालयमा विचाराधिन छ । उक्त मुद्दाको फैसला आउनुपूर्व नै एमालेको माधवकुमार नेपाल समूहलाई विपक्षी गठबन्धनबाट फिर्ता ल्याउने प्रयास प्रधानमन्त्री ओलीले गरिरहेको देखिन्छ ।
ओलीको यो प्रयासलाई माधव समूहले षडयन्त्रको रुपमा बुझिरहेको छ । केही दिनमै सर्वाेच्चबाट फैसला आउने अपेक्षा गरिएको छ । सर्वाेच्चको उक्त फैसलाले एमालको मात्रै हैन मुलुकको राजनीतिक भविष्यको पनि रेखा कोर्न देखिन्छ ।