काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगले आज केन्द्रीय सदस्यहरुको टाउको गनिरहेको छ । फलस्वरुप आयोगले आज साँझ निर्णय सुनाउने भएको छ । नियमअनुसार साँझ ५ बजेसम्म सनाखत गराएर इजलासबाट आजै साँझ फैसला सुनाउने तयारी रहेको आयोगले जनाएको छ ।
आयोगले उपेन्द्र यादव पक्षमा बहुमत देखिएकाले उसैलाई आधिकारिकता दिने संकेत देखिइसकेको छ ।
निर्वाचन आयोगमा आज बिहान ११ बजेदेखि जसपाका दुबै पक्षका केन्द्रीय सदस्यहरुको ‘हेड काउन्ट’ भइरहेको छ । आयोगले कानूनअनुसार बेलुका ५ बजेसम्मका लागि निर्वाचन आयोगको इजलासमा पुगेर सनाखत गर्न दुबै पक्षका केन्द्रीय सदस्यलाई समय दिएको छ । बेलुका ५ बजेपछि इजलासले फैसला लेख्ने र साँझ साढे ६ बजेसम्म निर्णय सुनाउने आयोगको तयारी छ ।
सनाखतका क्रममा राजकिशोर यादव, मनिष सुमनलगायतका पूर्वराजपा नेताहरु पनि आफ्नो पक्षमा उभिएपछि यादव पक्षले आधिकारिकता पाउने लगभग निश्चित देखिएको छ । निर्वाचन आयोगमा पुगेका यादव पक्षका नेताहरु उत्साही देखिएका छन् भने ठाकुर पक्षका नेताहरु निराश बनेको बताइएको छ ।