काठमाडौं – मुख्यमन्त्री शंकरप्रसाद पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि शुरु भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ । विशेष अधिवेशन चल्दै गर्दा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अधिवेशन स्थगित भएको हो ।
आज दिउँसो १ बजे शुरु भएको विशेष अधिवेशनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वास प्रस्तावमाथि बोलेका थिए । सत्तारुढ नेकपा (एमाले)ले बहिस्कार गरेको प्रदेशसभामा मुख्यमन्त्री पनि अनुपस्थित भएपछि सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीको जवाफका लागि प्रदेशसभा एक घण्टाका लागि स्थगित गर्नुभएको थियो ।
त्यसपछि बसेको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको राजीनामासम्बन्धि पत्र पढेर प्रदेशसभा बैठक पुन स्थगित भएको छ ।
यता, राजीनामा दिएपछि पोखरेलले गर्व गर्न लायक प्रदेश राजधानी बनाउने आफ्नो सोच अधुरै छोड्न बाध्य भएको बताउनुभएको छ । राजीनामा पछि प्रदेश मन्त्रालयका सचिवसँग आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी गराउँदै पोखरेलले अगाडि सारिएका योजना पूरा गर्न नयाँ बन्ने सरकारलाई सघाउन आग्रह गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले आजै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पुगेर राजीनामा दिनुभएको हो ।
त्यो त प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमापर्नुभएको थियो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ । उहाँ मुख्यमन्त्री हुने सम्भावना प्रायः निश्चित छ ।
एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्रनम्बर २ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
उहाँ २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
दोस्रोपटक अल्पमतमा पर्दापर्दै पनि असंवैधानिक ढंगले पोखरेलको नियुक्ति भएको भन्दै विपक्षी दलहरुले बहुमत सिद्ध गर्न वा राजीनामा दिन निरन्तर माग गर्दै आएका थिए । सोहीअनुरुप अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।