काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।
लामो समय माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न नेतृत्वलाई अल्टिमेटम दिनुभएको थियो।
अन्टिमेटमको अन्तिम दिन आज एकता पक्षधर नेताहरुले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेका थिए ।ओलीको निवास बालकोटमा भएको छलफलमा २७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति जुटेको छ ।
सहमतिअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ, जुन भोलि स्थायी कमिटीमा पेश हुनेछ ।
बालकोटमा भएको छलफलमा सहभागी एक नेताका अनुसार पार्टी एकता हुन्छ कि हुन्न भन्ने विषय उक्त प्रस्तावमा भर पर्नेछ ।
प्रवक्ता प्रदीप ज्ञवालीले भने भोलिको बैठकमा सबै नेताहरु सहभागी हुने र पार्टीमा एकतामा देखा परेको समस्या समाधान हुने बताउनु भएको छ ।उहाँका अनुसार भोलिको बैठकले दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने छ ।