काठमाडौैँ – नवगठित एकीकृत समाजवादी पार्टीमा सांसदहरु खुल्न थालेसँगै प्रदेशहरुमा हलचल मच्चिएको छ ।
एमालेबाट विद्रोह गरी निर्माण भएको एकीकृत समाजवादी पार्टीमा सांसदहरु खुल्न थालेसँगै प्रदेशहरुमा तरंग फैलिएको हो ।
आज मात्रै बागमतीका १२ र सुदूरपश्चिमका १० जना सांसदले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् ।
त्यहाँ थप तीन जना सांसद एकीकृत समाजवादीमा खुले पनि कागजी प्रक्रिया नपुगेका कारण उनीहरुको सनाखत नभएको दाबी गरिएको छ ।
भीम रावलको प्रभाव बलियो मानिने सुदूरपश्चिममा अहिले भने त्यो अवस्था देखिएन । रावलले माधवको साथ छाडि एमालेमै रहेर ओलीलाई साथ दिएपछि उहाँका निकट सांसदहरुले नै साथ छोडेका छन् ।
आफूसँग रहेका सांसदहरुको साथ गुमाएपछि रावल सुदूरपश्चिममा निष्प्रभावी बनेको चर्चा राजनीतिक वृत्तमा छ ।
उता प्रदेश १ का पनि १० जना सांसदहरु माधवकुमार नेपालले नेतृत्व गरेको नयाँ पार्टीमा जाने लगभग निश्चित छ । उनीहरुले आजै निर्वाचन आयोगमा सनाखतको तयारी गरे पनि विराटनगरमा सार्वजनिक बिदा भएका कारण भोलि मात्रै सनाखत हुने बताइएको छ ।
सांसदहरुले एमाले त्यागेर एकीकृत समाजवादी पार्टी रोज्न थालेसँगै हालै माधव नेपालको साथ छाडेर मुख्यमन्त्री बनेका अष्टलक्ष्मी शाक्य र भीम आचार्यको पद धरापमा परेको छ ।
एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले आफूहरुले सनाखत गरेसँगै बागमती सरकार अल्पमतमा परेको बताउँदै अब आफू मुख्यमन्त्री बन्ने दाबी गर्नुभयो ।
हुन त कानुनी रुपमा सांसदहरूलाई भदौ २२ गते सम्म दल रोज्ने अधिकार छ । मुख्यमन्त्री शाक्यले एमाले त्यागेर एकीकृत समाजवादी रोजे बाहेक सरकार जोगिने अरु सम्भावना छैन ।
तर शाक्यले एमालेमै रहने जानकारी दिइसकेकोले अब सरकार ढाल्नुको विकल्प आफूहरुसँग नरहेको नेता पाण्डेले बताउनुभयो ।
एमालेले नेतृत्व गरेका बागमती र प्रदेश १ सरकार ढल्ने चर्चाकाबीच सुदूरपश्चिममा माओवादी केन्द्रले नेतृत्व गरेको सरकार पनि पल्टिने सम्भावना बढेर गएको छ ।
सत्तारुढ गठबन्धनमा सहमति गरेर माओवादी केन्द्रका त्रिलोचन भट्ट नेतृत्वको सरकार फेरबदल गर्ने कसरत चलिरहेको हो । एमाले नेतृत्वका सरकार लगातार ढल्न थालेपछि सत्ता गठबन्धन उत्साहित बनेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीलाई आफूले आगोसँग नखेल्न चेतावनी दिएको स्मरण गर्नुभयो । अब बागमती र प्रदेश १ सरकार पनि ढालेर ओलीलाई पछार्ने उहाँले बताउनुभयो ।
एमालेको आन्तरिक संघर्षमा केपी ओलीको तीव्र आलोचना गर्दै माधवकुमार नेपाललाई साथ दिएका शाक्य र आचार्य अन्तिम घडिमा ओलीलाई साथ दिँदै मुख्यमन्त्री बनेका थिए ।
तर मुख्यमन्त्री चयन भएको छोटो समयमै उनीहरु पदमुक्त हुन थालेका छन् । दुवै जनाले मन्त्रालयको संख्या बढाएर भए पनि बहुमत पु¥याउने प्रयास गरेका थिए । तर त्यसमा सफल भएनन् ।