काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रपति डा. प्रकाशसरण महतले एमसीसीको विरोध गर्नेले कुनै बैदेशिक सहायता नलिने घोषणा गर्नुपर्ने बताउनु भएको छ ।
अमेरिका स्वयमंले लिखित रुपमा नै यसमा कुनै राजनीतिक, रणनीतिक तथा सैन्य स्वार्थ छैन भनेर भनिसकेको अवस्थामा समेत गलत प्रचार गर्नु मुर्खता हुने उहाँको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, “एमसिसिको विरोध गर्नेहरुले कुनै बैदेशिक सहयोग लिन्न भनेर घोषणा गर्न सक्नुहुन्छ ?”
एमसिसिको विरोध गरेर एमसीसी कार्यान्वयन नभएमा अन्य बैदेशिक सहयोग पनि नेपालमा ल्याउन सकिने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
अहिलेको युगमा सवै कुनै एउटा देशले मात्रै गर्छु भन्नु असंभव र मुर्खता मात्रै हुने र विकासमा झन पछाडि परिने डा महतले दावी गर्नुभयो ।
एमसीसीको विरोध गर्नेहरुले नेपालमा संचालित अन्य परियोजना, तथा भिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रमहरुको पनि विरोध गर्नुपर्ने उहाँको भनाई थियो ।
“नेपालमा एमसीसी जस्तै अरु धेरै बैदेशिक सहयोगका विभिन्न गैरसरकारी संस्थामार्फत धेरै कार्यक्रमहरु संचालन भएका छन्, त्यो पनि हेर्नु परो नी,” डा. महतले भन्नुभयो ।
बैदेशिक सहयोगका कार्यक्रमहरुको विरोध गरेमा कुटनीतिक क्षेत्रमा समेत असर परेर विश्वभरीबाट नेपाल एक्लिदै जाने खतरा रहने पनि काँग्रेस सहमहामन्त्री महतले चेतावनी दिनुभयो ।