काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई आन्दोलन फिर्ता लिई काममा फर्कन आग्रह गरेको छ ।
आज एक विज्ञप्ति जारी गरी मन्त्रालयले आन्दोलनरत पक्षका अधिकांश माग सम्बोधन भइसकेका बताएको छ । बाँकी माग पूरा गर्दै जाने बताउँदै मन्त्रालयले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो ।
मन्त्रालयले आन्दोलनरत पक्षले उठाएका माग र सम्बोधन भएका ८ बुँदासमेत सार्वजनिक गरेको छ । प्रतिष्ठानका पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने, मन्त्रालयका तर्फबाट गरिएको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गरिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारको विषय अख्तियारको छानबिनको क्रममा छ। रजिष्टारको राजिनामा स्वीकृत भइसकेको छ। उपकुलपतिको प्राध्यापक पद नभएको पुष्टि भएकोले कानुनअनुसार थप प्रक्रिया अघि बढाईसकेको छ। कोभिड महामारीको यो अवस्थालाई विचार गर्दै काममा फर्किनुहोला।’
मन्त्रालयले बुँदागत रुपमा आन्दोलरत स्वास्थ्यकर्मी तथा कर्मचारीका मागको अवस्थाका बारेमा उल्लेख गर्दै पदाधिकारी कारवाही प्रक्रिया अघि बढेसँगै पदाधिकारी नियुक्तिको मापदण्ड तयार हुने क्रममा रहेको जनाएको छ।
सरकारले पूर्व सम्झौता अनुसार आफ्ना माग पूरा नभएको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा कर्मचारीले भदौ २० गतेदेखि आन्दोलित भएपछि इमर्जेन्सी, कोभिड र पूर्व निर्धारित परीक्षा बाहेक सबै सेवा अवरुद्ध भएका छन्।
