काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश पार्टी इन्चार्जमा लेखराज भट्ट नै यथावत रहने बताएपछि उपाध्यक्ष भीम रावल तनावग्रस्त बन्नुभएको छ ।
आज बिहान बालकोटस्थित निवासमै बोलाएर ओलीले सुदूरपश्चिम इन्चार्जमा माओवादी केन्द्रबाट आएका भट्ट यथावत रहने स्पष्ट पार्दै रावललाई उपाध्यक्षको भूमिकामा सहजिकरण गर्न निर्देशन दिनुभएको थियो ।
ओलीको यस्तो निर्देशनपछि तनावग्रस्त रावलले आज दिउँसो आफूनिकट सांसद तथा नेताहरुसँग छलफल गर्नुभयो ।
पार्टी ७५ जेठ २ को संचरनामा फर्केपछि सुदूरपश्चिम इन्चार्ज आफैले पाउनुपर्ने अडान रावलको छ ।
उपाध्यक्ष रावलनिकट कैलालीका सांसद झपट रावलले विधि र पद्धति कायम गराउन आफूहरु विगतदेखि नै लडाईमा रहेको बताउनुभयो ।
उहाँले १० बुँदे सहमतिको अक्षरश पालना गर्ने हो भने सुदूरपश्चिम इन्चार्ज भीम रावल हुनुपर्ने बताउनुभयो ।
आज बिहान ओलीले नेता रावल, भट्ट र एमाले प्रदेश अध्यक्ष कर्णबहादुर थापासहितका नेताहरुलाई बालकोट बोलाउनुभएको थियो । उक्त भेटका क्रममा अध्यक्ष ओलीले यसअघि तोकिएको जिम्मेवारी हेरफेर नहुने बताउनुभयो ।
नेकपा एमालेलाई जेठ २ मा फर्काउने गरी असार २७ मा गरिएको १० बुँदे सम्झौता कार्यान्वयन गर्दा एमालेको सुदुरपश्चिम इन्चार्ज नवौँ महाधिवेशनबाट उपाध्यक्ष बन्नुभएका रावल नै हुनुपर्ने हो ।
तर ओलीले भट्ट नै इन्चार्जको जिम्मेवारीमा यथावत रहने बताएपछि रावल ‘मलाई अन्याय भयो’ भन्दै बालकोटबाट निस्कनुभयो ।
तर एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा भने रावलले अब प्रदेशतिर सिंगौरी खेल्न नसुहाउने बताउनुभयो ।
पार्टी उपाध्यक्ष रहेको व्यक्तिले आफूलाई राष्ट्रिय राजनीतिमै विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
ओलीले काखी च्यापेका लेखराज भट्ट सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि माओवादी छाडेर एमाले रोजेका सुदूरपश्चिमका प्रभावशाली नेता हुन् ।
माधव नेपाल समूहसँग विवाद चलिरहेका बेला ओलीले भट्टलाई एमालेको सुदूरपश्चिम इन्चार्ज तोक्नुभएको थियो । रावल त्यसबेला माधव नेपाल समूहमा हुनुहुन्थ्यो ।
माधव नेपालसहितका नेताहरु असार २७ को १० बुँदे अस्वीकार गर्दै एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनाउन लाग्दा रावल एमालेमै फर्किनुभयो ।
पार्टी जेठ २ मा फर्किने सहमतिपछि उपाध्यक्ष रावल स्वतः सुदूरपश्चिम संयोजक हुनुपर्ने अडान आफूहरुको रहेको उहाँ निकट सांसद झपट रावलले बताउनुभयो ।
तर अध्यक्ष ओलीसहित एमालेका शीर्ष नेताहरुले नै १० बुँदे सहमति जस्ताको त्यस्तै पालना हुन नसक्ने सार्वजनिक रुपमा बताइसकेका छन् ।
यता क्रान्तिकारी चेतनालाई धोका दिनेहरुले कम्युनिष्ट आन्दोलनमा अब यथोचित स्थान नपाउने एमालेबाट विभािजत नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडा बताउनुहुन्छ ।
भीम रावलहरुको छटपटाहटको अब अर्थ नरहने आशय उहाँले व्यक्त गर्नुभयो । रावलहरुले एकताका नाममा आत्मसमर्पण गरेर कम्युनिष्ट क्रान्तिलाई धोका दिएको उहाँको टिप्पणी छ ।
एमालेमा देखिएको आन्तरिक विवादलाई समाधान गर्न विभिन्न सम्झौताहरु भएका छन् । तर ती सम्झौताहरु एक आपसमा बाँझिन्छन् । संस्थापन समूह आफूलाई पायक पर्ने गरी सहमतिका बुँदाहरुलाई व्याख्या गरिरहेको छ ।
आफूलाई पायक पर्ने ठाउँमा ७५ जेठ २ अनुसार पार्टी संचरना फर्काेउने र पायक नपर्ने स्थानमा सो बुँदासँग बाँझिने अर्काे बुँदामा टेकेर निर्णय लिने रणनीति ओलीले लिनुभएको छ ।