काठमाडौं – सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिनुभएको छ ।
संसदलाई दुई–दुई चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी उहाँले गर्नुभयो ।
सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उहाँले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिनुभयो ।
अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौँ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि बताउनुभयो ।
‘जसले संसदलाई २–२ चोटी विघटन गर्छ । ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने । सर्वोच्चको फैसला मान्दैनौं भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ? अनि संसदीय मर्यादा कायम । जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो’ आफूले विगतमा माओवादी छाडेपछि सांसद पदबाट राजीनामा दिएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।’
भट्टराईले एमालले आफैँले विघटन गरेको संसदमा अवरोध सिर्जना गरेर निर्लज्जता देखाएको टिप्पणी गर्नुभयो ।