Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

केन्द्रसहित सबै प्रदेशमा सत्ताबाट लखेटिएपछि के भन्छन् एमाले नेताहरु ?

केन्द्रसहित सबै प्रदेशमा सत्ताबाट लखेटिएपछि के भन्छन् एमाले नेताहरु ?

  • सोमवार, कार्तिक १५ २०७८

  • 826
    SHARES

  • केन्द्रसहित सबै प्रदेशमा सत्ताबाट लखेटिएपछि के भन्छन् एमाले नेताहरु ?

    काठमाडौँ – देशको सबैभन्दा ठूलो दल नेकपा एमाले संघीय र प्रदेश सरकार सबैतिर प्रतिपक्षी कित्तामा पुगेको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको राजीनामासँगै अब एमाले संघीय र प्रदेश सबैतिर प्रतिपक्षी कित्तामा धकेलिएको हो ।

    २०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि एमालेको नेतृत्वमा संघीय सरकार र चारवटा प्रदेश सरकार बनेका थिए । तर नेतृत्वले बहुमत सम्हाल्न नसकेपछि एमाले नेतृत्वका सबै सरकार ढलेका छन् ।

    नेकपा विभाजनको कारण यसअघि एमालेले संघीय सरकार, गण्डकी र लुम्बिनीको प्रदेश सरकार गुमाएको थियो । गत भदौमा एमाले पनि विभाजित भएपछि बागमती र प्रदेश १ को सरकार पनि गुमेको छ ।

    संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीविरुद्धको व्यवस्थित षड्यन्त्र सफल भएका कारण एमाले सत्ताविहीन हुन पुगेको प्रतिक्रिया दिनुभयो ।

    उहाँले पार्टी विभाजनको असरले सत्ता गुमाए पनि आगामी निर्वाचनमार्फत फेरि बहुमत हासिल गर्नेगरी तयारीमा जुट्न नेता कार्यकर्तालाई आह्वान गर्नुभयो ।

    तर अध्यक्ष केपी शर्मा ओलीको अहंकारकै कारण एमाले सबै सरकारबाट लखेटिएको आवाज पार्टीभित्रैबाट उठिरहेको छ । उपाध्यक्ष भीम रावलले केन्द्रसँगै सातवटै प्रदेशबाट सत्ता गुमाउँदा पनि नेतृत्वको चेत अझै नख्लेको बताउँदै आउनुभएको छ ।

    नेतृत्वको अहंकारले आन्तरिक समस्या समाधान हुन नसकेकोले पार्टीलाई ठूलो क्षति भइरहेको उहाँको भनाइ छ । तर संसदीय दलका उपनेता नेम्वाङ रावल लगायतका आलोचकहरुको टिप्पणीसँग सहमत हुनुभएन ।

    लोकतन्त्रमा आलोचना गर्न पाउने छुट हुने भए पनि एमाले सरकारविहीन हुनुपर्ने अहिलेको अवस्था पार्टी विभाजनकै उपज भएको उहाँले बताउनुभयो । यद्यपि कमजोरीहरुलाई सुधार्दै उत्साहका साथ एमालेले आगामी निर्वाचनको तयारी गरिरहेको उहाँले बताउनुभयो ।

    चुनावपछि एकता गर्ने घोषणासहित गठबन्धन गरेर २०७४ सालको आमनिर्वाचन लडेका एमाले र माओवादीबीच २०७५ जेठ ३ मा एकता भएको थियो । तर पार्टीभित्र विवाद उत्कर्षमा रहेका बेला गएको फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी अलग हुन वैधानिक बाटो खोलिदियो ।

    त्यसपछि एमाले पनि सिंगो रहन सकेन । माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो । विभाजित भएपछि माओवादी केन्द्र र एकीकृत समाजवादी सत्तामा पुगेका छन् भने एमाले सबैतिर सत्ताबाट लखेटिएको छ ।


    सोमवार, कार्तिक १५ २०७८०७:३३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij