पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा बागमती प्रदेशको मकवानपुर (मकवानपुरगढी) र गण्डकी प्रदेशको म्याग्दीमा समान १२१ मिलिमिटर रेकर्ड गरिएको छ। यसैगरी, कोशी प्रदेशको सुनसरीमा ११७ मिलिमिटर, उदयपुरमा १०६ मिलिमिटर र मनाङको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपाली रेडियो नेटवर्कमा मौसमविद् रोजन लामिछानेले दिएको जानकारी अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ुअर्नबु को अवशेष र पश्चिमी वायुको संयुक्त प्रभावका कारण नेपालका विभिन्न भूभागमा पछिल्लो २४ घण्टादेखि लगातार भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पूर्वी र मध्य क्षेत्रका साथै गण्डकी प्रदेशमा वर्षाको प्रभाव सबैभन्दा धेरै देखिएको छ।। उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ । धेरै ठाउँमा अस्ति बिहीबार बेलुकीदेखि नै लगातार झरी परिरहेको हो ।अहिले पूर्वमा भन्दा मध्य र पश्चिमी भेगमा पानी पर्ने क्रम बढेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा, सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
अहिलेसम्म ठूलो बाढी आउने गरी कतै पानी नपरे पनि केही नदी खोलाहरुमा बाढीको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा, गण्डकी प्रदेशको केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भेगको केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात हुनेछ ।
मौसमविद् लामिछानेका अनुसार आज दिउँसोदेखि ‘अर्नब’ चक्रवातको प्रभाव कम हुँदै जानेछ । त्यसपछि वर्षाको गतिविधि पनि क्रमिक रूपमा कम हुनेछ । अर्नबको प्रभाव कम हुने भए पनि हल्का वर्षाको सम्भावना कायमै रहेकाले ठाउँ विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरुको आग्रह छ ।