काठमाडौँ – प्रधानमन्त्री समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रसंसा गर्नुभएको छ। पार्टीको आन्तरिक द्वन्द्व चर्कदै गएका बेला दुई अध्यक्षले एक अर्काको चर्को आलोचना गरिरहनुभएको थियो ।
तर पछिल्लो पटक पार्टीका नेताहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डको भूमिकाबारे खुलेरै प्रसंसा गर्नुभएको हो । नेकपाका स्थायी कमिटि सदस्यहरुसँगको छलफलका क्रममा ओलीले सन्तुलित भूमिका खेलेर पार्टीलाई विभाजनबाट जोगाएको भन्दै अध्यक्ष प्रचण्डको प्रसंसा गर्नुभएको नेता हरिबोल गजुरेलले बताउनुभयो ।
केपी ओलीले पार्टीको स्थायी कमिटि बैठक एकलौटी रुपमा स्थगित गरेपछि प्रचण्ड नेपाल समूहले बालुवाटारमै बैठक राखेको थियो । उक्त बैठकलाई स्थायी कमिटि बैठकको निरन्तरताको रुपमा लिँदै बहुमतका आधारमा निर्णय लिएर अघि बढ्न दाहाललाई दबाब परेको थियो।
तर प्रचण्डले उक्त बैठकमा विभाजनलाई मद्धत पुग्ने खालले प्रस्तुत नभई सन्तुलित भूमिका निर्वाह गरेर पार्टीलाई दुर्घटनाबाट जोगाएको भन्दै ओलीले प्रसंसा गर्नुभएको हो।
आफूप्रति सद्भाव राख्ने पूर्वमाओवादी तर्फका स्थायी समिति सदस्यहरुसँग सामूहिक छलफलका क्रममा ओलीले यस्तो बताउनुभएको हो । तर उक्त बैठकपछि पनि नेकपाभित्रको शक्ति संघर्ष भने यथावत छ। त्यसयता विवाद समाधानबारे दुई अध्यक्षबीच छलफल समेत हुन सकेको छैन।
विवाद हल गर्न बैठकमा आउन ओलीको प्रस्तावलाई प्रचण्डले निकास ननिस्कने बैठक बसिरहन आवश्यक नरहेको भन्दै अस्वीकार गरिरहेको श्रोतले बताएको छ। तर नेता सुवासचन्द्र नेम्वाङले अन्यथा नभए भोलि दुई अध्यक्षबीच छलफल हुन सक्ने बताउनुभयो।
श्रोतका अनुसार छलफलमा आउन समेत अस्वीकार गरिरहेपछि केपी ओलीले प्रचण्डलाई मनाउने प्रयास स्वरुप उहाँको प्रसंसा गर्नुभएको हो। ओलीले प्रचण्डको प्रसंसा गर्नुलाई त्यसबाहेक अन्य रुपमा बुझ्दा गलत ठहरिने प्रचण्ड निकट कतिपय नेताहरुको प्रतिक्रिया छ।
यसैबीच अध्यक्ष प्रचण्डले पार्टी एकता जोगाउने नाममा पार्टीभित्रको गलत प्रवत्तिको ढाकछोप गर्न नसकिने बताएका छन्। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा दाहालले एकता भत्किहाल्छ कि भन्ने मानसिकता लिएर गलत प्रवृत्तिको ढाकछोप गर्न नसकिने दृढता व्यक्त गर्नुभएको हो।
प्रचण्डले पद प्राप्तिका लागि मात्रै नेकपामा संघर्ष चलिरहेको आरोपको पनि खण्डन गर्नुभयो । समाचारहरुमा आएजस्तो पद प्राप्तिका लागि पार्टीभित्र कुनै विवाद नरहेको उल्लेख गर्दै प्रचण्डले विधि र पद्धतिको पालना कसरी गराउने भन्ने विषयमा छलफल केन्द्रित रहेको जिकिर गर्नुभयो ।
केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर निकास दिनुपर्ने प्रचण्ड समुहको मागका कारण चर्केको विवादले नेकपा विभाजन नजिक छ । दुवै समूहले पार्टीलाई फुट्न नदिने दृढता त व्यक्त गरिरहेका छन् तर समाधानको सूत्र पनि फेला नपर्दा पार्टीको संकट झन झन गहिरिँदै गइरहेको छ ।