जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताउनुभएको छ ।
गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा मंगलबार आयोजित जनभेटघाट कार्यक्रममा भट्टराईले अहिलेको शासन प्रणालीले देशमा जति सरकार बने पनि स्थिर सरकार बन्न नसक्ने बताउनुभएको हो ।
संविधानसभाबाट संविधान बनाए पनि देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म स्थिर सरकार बन्दैन’, उहाँले भन्नुभयो, ‘जबसम्म योग्य मान्छे, योग्य समूह सबै छानेको प्रतिनिधिले नेतृत्व लिँदैन, त्यो नभएसम्म देशमा सही अर्थमा लोकतन्त्र पनि आउँदैन र विकास र समृद्धि पनि हुँदैन ।’ उहाँले असल व्यक्ति नआएसम्म देशमा परिवर्तन सम्भव नहुने बताउनुभयो ।
उहाँले माओवादीलगायतका दलहरुले अहिलेको संविधानमा सबैथोक पुग्यो भन्नु यथार्थ नभएको भन्दै अहिलेको संविधान पूर्ण नभएको बताउनुभयो । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म संविधानसभाबाट बनेको संविधान पनि पूर्ण छैन’, डा भट्टराईले भन्नुभयो, ‘संविधान आधा गिलास खाली र आधा गिलास भरिएको जस्तो मात्र भएको छ, प्रत्यक्ष राष्ट्रपतीय प्रणाली लागू गर्न सके मात्र त्यो पूरा हुन्छ ।’
अहिलेको नेपालको सङ्घीयता आफूहरुले खोजेको जस्तो सङ्घीयता नभएको पनि अध्यक्ष डा भट्टराईको भनाइ छ । ‘विभिन्न जातजाति, भाषा र समुदायले बनेको मुलुक हो, सङ्घीयता भनेको आफ्नो भाषा, इतिहास थातथलो मिल्ने गरी भौगोलिक सीमाङ्कन गरिएको हुनुपर्छ, देश ठूलो भएकाले काँक्रो चिरे जस्तो चिर्ने भन्ने मात्र सङ्घीयता होइन’, डा भट्टराईले भन्नुभयो, ‘जातीय र भाषिक विविधता भएको देशमा त्यही अनुसार सीमाङ्कन हुनुपर्थ्यो।’
अर्को प्रसङ्गमा उहाँले हिजोका माओवादी एकता आवश्यक भए पनि पुरानै अवस्था नभइ पुराना माओवादी नयाँ ठाउँमा आएर एकता हुनुपर्ने बताउनुभयो । ।
‘नयाँ विचारशैली र ढाँचा बोकेको नेतृत्व प्रणाली भएको ठाउँमा जाऔँ, माओवादीको हिजोको विचारले मात्र पुग्दैन’, उहाँले भन्नुभयो ‘सबै माओवादी एकै ठाउँमा आएर हिजोकै ठाउँमा फर्कने भन्ने कुरा भावनात्मक कुरा मात्र हो ।’