काठमाडौँ – काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना नयाँ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य मन्त्रालयले जिल्लागत तथ्याङ्क बताए पनि संक्रमितको ठेगाना भने खुलाएको छैन। काठमाडौँमा बाहिरका जिल्लाबाट आएका व्यक्तिहरुमा संक्रमण धेरै पाइएको बताइएको छ ।
बाहिरबाट आउने व्यक्तिहरुबाट कोरोना फैलिन सक्ने भन्दै मन्त्रालयले काठमाडौँ भित्रिने नाकामै चेकजाँच गरिरहेको जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यका भित्रिने नाकामा हालसम्म १० हजार ८ सय २७ जनाको नमुना संकलन गरिएको छ।
नागढुंगा, साँगा र फर्पिङमा संकलन गरिएको उक्त नमुनाको परीक्षणको काम भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौँमा दिनदिनै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जनजीवन आतंकित भएको छ । ठूलो जनसंख्या रहेको काठमाडौँमा संक्रमण फैलिए सरकारले धान्नै नसक्ने अवस्था सृजना हुन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।
काठमाडौँ उपत्यकामा ३१ सँगै देशभर थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ७२ रहेको छ । पछिल्लो चौबिस घण्टामा ८ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
हालसम्म ३ लाख ९१ हजार २ सय ७० जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा क्वारेन्टिनमा रहेकाहरुको संख्या १० हजार ९ सय ३४ रहेको छ।
पछिल्लो चौबिस घण्टामा १११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त भएर आइसोलेसन सेन्टरबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ। नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संखाय ५७ रहेको छ।
यसैबीच कोरोना महामारीले तीव्र रुपमा फैलिरहेको पर्साको वीरगञ्जमा सरकारले उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
वीरगञ्जमा पछिल्लो समय कोरोना संक्रमतिको संख्या निक्कै बढेको छ । त्यहाँ साउन यता मात्रै कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७ रहेको छ ।