काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग हारेपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टीमा नांगो हस्तक्षेपको आरोप लगाउने कमल थापाको हर्कतको आम रूपमा व्यापक आलोचना भएको छ । अधिकांशले गद्दी त्यागेर बसेका पूर्वराजा ज्ञानेन्द्रमाथि हारको दोष लगाउने थापाको हर्कतको निन्दा गरेका छन् ।
पूर्वराजाको सचिवालयले राजा सम्पूर्ण नेपालीको अभिभावक रहेकोले कुनै एक पार्टीको राजनीतिमा दखल राख्ने विषय कल्पनाभन्दा बाहिर रहेको प्रतिक्रिया दिएको छ ।
पूर्वराजाको सचिवालयका एक सदस्य फणि पाठकले पूर्वराजाको चिन्ता कुनै एक पार्टी र उसको नेतृत्वभन्दा पनि देश र जनताप्रति रहेको बताउनुभयो । पाठकले उहाँकै शब्दमा राप्रपाको महाधिवेशनमा सरकारको कुनै संलग्नता नरहेको दाबी गर्नुभयो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि सामाजिक सञ्जालमा लोकप्रिय व्यक्तित्वहरूले पराजय स्वीकार गर्न नसकेको भन्दै थापालाई कटाक्ष गरेका छन् । राप्रपाको अध्यक्षमा पराजित भएलगत्तै थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको भन्दै पूर्वराजा शाहमाथि कडा आक्रोश पोख्नुभएको थियो ।
सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार निर्मल निवासबाट आज पाएको भन्दै थापाले ज्ञानेन्द्रलाई धन्यवाद र बधाई समेत दिनुभएको छ ।
थापाले आफूले आफँैलाई राजसंस्थाको एजेण्डा बोक्ने मूल संवाहक दाबी गर्दै पूर्वराजा शाहबाट भने राजनीतिक रूपमा समाप्त पार्ने चेष्टा गरेको आरोप पनि लगाउनुभएको छ । थापाको यस्तो अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको हो ।
अधिकांशले थापाको अभिव्यक्तिलाई हारपछिको छटपटिका रूपमा व्याख्या गरेका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफना सहपाठीको रोचक र मार्किक अभिव्यक्ति भन्दै थापाप्रति कटाक्ष गर्नुभएको छ ।
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले हिजो राजाले बनाइदिएका मान्छे अन्तगर्त पर्ने कमल थापा, अहिले ज्ञानेन्द्र शाहको आलोचनामा उत्रनु शोभनीय नरहेको बताउनुभयो । हारलगत्तै पूर्वराजाप्रति खनिनु थापाको अराजनीतिक संस्कार रहेको उहाँले बताउनुभयो ।
बिहान पराजित भएको परिणाम सुन्नेबित्तिकै सामाजिक सञ्जालमार्फत पूर्वराजाप्रति खनिएका थापा नवनिर्वाचित पदाधिकारीरूको शपथ समारोहमा पनि सहभागी हुनुभएन । शपथ चलिरहँदा बरु उहाँले सामाजिक सञ्जालमार्फत यसपालि त मनै फाँट्यो भन्दै अर्काे सन्देश प्रवाह गर्नुभयो ।
थापाको यी अभिव्यक्तिबाट दरबारसँग उहाँको सम्बन्ध ठिक नरहेको प्रष्ट हुन्छ । तर त्यही दरबारको टेको बोकेर राजनीति गर्दै आउनुभएका थापाले पार्टीको आन्तरिक चुनावमा पराजित भएलगत्तै पूर्वराजा शाहमाथि हिलो छ्याप्नु कत्ति पनि जायज नरहेको तर्क सामाजिक सञ्जालमा पेस भइरहेका छन् ।
राजसंस्थाको एजेण्डा आफूले बोकेको दाबी गरिरहँदा कमल थापामाथि त्यो एजेण्डा आफ्नो राजनीतिक दुनो सोझ्याउन थियो कि राजसंस्थाका लागि थियो भन्ने प्रश्न पनि जबर्जस्त रूपमा उठेको छ ।
टिप्पणीकारहरूले कमल थापाले राजसंस्थाका लागि कमल थापाले वकालत गरेका हुन् कि कमल थापाले आफ्ना लागि राजसंस्थाको वकालत गर्नुपरेको हो भन्दै तिखा प्रश्नहरू तेर्साएका छन् ।