विराटनगर – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी आपसमा मिल्ने सम्भावना रहेको बताउनुभएको छ ।
मंगलबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा उहाँले एमालेलाई संविधान नमान्ने र गणतन्त्र उल्ट्याउन चाहने शक्तिका रुपमा चित्रित गर्नुभयो ।
‘संविधानलाई नमान्ने, लोकतान्त्रिक समाजवादी, गणतन्त्र उल्टा्याउन चाहने राप्रपा र केपी शर्मा ओली नेतृत्वको एमाले एक ठाउँमा उभिने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘हामी त्यहाँ (एमालेमा) भएको भए के हुन्थ्यो हालत ? हरि बिजोग हुन्थ्यो ।’
पहिले आफ्नो समूहमा रहेका र पार्टी विभाजन गर्दा साथ नदिएर एमालेमै बसेका नेताहरु भीम रावल, घनश्याम भूसाललगायतलाई लक्षित गर्दै नेता नेपालले भन्नुभयो, ‘त्यहाँ भएका मान्छेको हालत भएजस्तै ।’
एमालेका धेरै नेतालाई अध्यक्ष ओलीको व्यवहार र निर्णय चित्त नबुझे पनि बोल्न नसक्ने अवस्थामा रहेको उहाँले टिप्पणी गर्नुभयो । ‘उकुसमुकुस छ, सुतौं निद्रा नलाग्ने, उठौं चैन नहुने,’ नेता नेपालले भन्नुभयो, ‘विजोग छ, ओली सुध्रिनेवाला छैनन् । त्यो जमात क्रान्तिकारी रहेन ।’
चितवनमा भएको १० औं महाधिवेशनबाट एमालेले जनताको बहुदलीय जनवाद र क्रान्तिकारी स्वभावलाई नारायणी नदीमा बगाएको उहाँको तर्क छ ।