काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि उम्मेदवारी मनोनयन दर्ता जारी छ । बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको हो ।
सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुनुहुन्छ ।
यस्तै कांग्रेसका नेता युवराज न्यौपानेले सभापतिका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । सभापतिमा उहाको दोस्रो उम्मेदवारी हो । न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको हो । नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्ने आफ्नो मुद्दा रहेको उहाले बताउनुभयो ।
यस्तै कांग्रेसका नेता महेश आचार्यले पार्टी उपसभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उपसभापतिमा आचार्यको नै पहिलो उम्मेदवारी दर्ता भएको हो । आचार्यले पार्टीको रुपान्तरणका लागि आफूले कसैको प्यानलमा नलागेर उम्मेदवारी दिएको बताउनुभयो ।
यस्तै सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिनुभयो ।
आकांक्षी अन्य उम्मेदवारले पनि निर्वाचन समितिले तोकेको समयभित्र दर्ता गराउनका लागि तयारी गरिरहेका छन् ।
काँग्रेसको चुनावका लागि आज साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । साँझ ७ बजेसम्म मनोनयन दर्ता उपर दाबी गर्न सकिने निर्वाचन समितिले जनाएको छ । आजै बेलुका ७ बजेदेखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय हुने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ । आजै उम्मेदवारको पहिलो नामावली पनि प्रकाशन हुने जनाइएको छ
भोलि बिहान ११ बजेसम्ममा उम्मेदवारले मनोनयन फिर्ता लिसक्नुपर्ने छ । दिउँसो सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र पर्सि बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनका लागि भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र महेन्द्र पुलिस क्लब गरी तीन ठाउँमा मतदान केन्द्र तोकेको छ ।