काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा आठ प्रहरी सहित १३ जना घाइते भएका छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पूर्व–पश्चिम राजमार्ग जाम गरी बसेका जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।
सडक खुलाउने क्रममा आन्दोलनकारीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि झडप भएको प्रहरीले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोलीसमेत चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक वसन्त रजौरेले जानकारी दिए।
उनका अनुसार नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका एक गरेर आठ जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।
सम्झाइबुझाइ गर्दा नमानेर उल्टै सुरक्षाकर्मीमाथि ढुंगामुढासहित आक्रमण गरेपछि नियन्त्रणमा लिन रबर गोली र अश्रुग्याँस प्रहार गरिएको रजौरेले जानकारी दिए।
घाइते भएका जनमत पार्टीका कार्यकर्तालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ।
किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि तराइका जिल्लामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै प्रदर्शन गर्दै आएको छ।