काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग पूरा नगरेको भन्दै सो पार्टीको असन्तुष्ट पक्ष पुनः आन्दोलन गर्ने तयारीमा जुटेको छ । अध्यक्ष ठाकुरले पार्टीको बैठक नबसाई एकलौटी निर्णयहरु गरेको दावी गर्दै सो पार्टीका असन्तुष्ट नेताहरुले संघर्षका कार्यक्रम ल्याउने तयारी गरेका हुन् ।
अध्यक्ष ठाकुरका एकलौटी निर्णयका विरुद्ध लोसपाका असन्तुष्ट नेताहरु यही पुस १२ गतेदेखि पार्टी कार्यालयमा धर्ना बसेका थिए । त्यसपछि अध्यक्ष ठाकुरले असन्तुष्ट पक्षसँग आफ्नो निवासमा बोलाएर वार्ता गरेका थिए । वार्तामा अगामी दिनमा सबैको सहमतिमा निर्णय लिने र बैठकहरू बसाउने प्रतिबद्धता अध्यक्ष ठाकुरले गरेका थिए । तर त्यसपछि पनि उनले विभिन्न नियुक्ति एकलौटी ढंगबाट गर्न थालेपछि थप संघर्ष गर्नुपर्ने अवस्था आएको लोसपाका नेता सञ्जय सिंहले बताए ।
जनकपुरमा माघको पहिलो हप्ता बृहत बैठक राखेर आन्दोलनका बारेमा छलफल गरि अगाडि बढ्ने तयारी भएको समेत उनले बताए । अर्का नेता रमण पाण्डेले पनि पार्टी अध्यक्षमा सुधार नआएको बताए ।
आफूले अध्यक्ष ठाकुरलाई भेटेर पनि यी कुरा सम्झाएको तर कुनै प्रतिकृया नदिएको भन्दै पाण्डेले असन्तुष्टि पोखे । पाण्डेले अब बैठक बसेर संघर्षका थप कार्यक्रमहरु सार्वजनिक गर्ने जानकारी दिए ।