काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्तारूढ गठबन्धनसँग मिलेर चुनाव जाने तयारी गरिरहेको भन्दै कांग्रेसका संस्थापनइतर समूहले आक्रोश पोखेको छ ।
नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरूसँग त्यसबारे सोमबार भर्चुअल रूपमा संवाद गरेका छन् । सभापति देउवा गठबन्धनसँग मिलेर चुनावमा जान खोजिरहेको विषयमा कोइरालाले नेताहरूको राय लिनुभएको थीयो ।
‘आफ्ना केही नजिकका मानिसहरूलाई लिएर उहाँ गठबन्धनको नाममा चुनावमा जाने तयारी गरिरहनुभएको छ, त्यसमा हाम्रो गम्भीर प्रश्न छ,’ कोइरालाले राखेका कुरा उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भननुभएको छ ।
चुनावजस्तो विषयमा पार्टीभित्र छलफलै नगरी सभापति देउवा अघि बढेको भन्दै सहभागी नेताहरूले आक्रोश व्यक्त गरेको ती नेताले बताएका छन ।
सभापति देउवाले एकलौटी कदम चालेकाले त्यसप्रति सचेत रहनुपर्ने नेताहरूले बताएका थिए । गठबन्धनसँग निर्वाचनमा जान नहुने तर्क बैठकका सहभागीहरूको थियो ।
बैठकमा महामन्त्री गगन थापा, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, नेताहरू चन्द्र भण्डारी, मिनेन्द्र रिजाल र रामशरण महत थिए । उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बन्द्री पाण्डे र जीवन परियार राष्ट्रिय सभा चुनावको तयारीका लागि बाहिर रहेकोले छलफलमा सहभागी थिएनन् ।
तीन तहको चुनाव एकैपटक गर्ने तयारीबारे बैठकमा कुरा उठेको थियो । स्थानीय तहको निर्वाचन वैशाखभित्रै हुनुपर्नेमा नेताहरूले जोड दिएका थिए ।
सत्तारूढ गठबन्धनले भने चुनावसँग बाझिने स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर संविधानअनुसार बनाउनुपर्ने बताइरहेका छन् । चुनावबारे गठबन्धनमा पटकपटक छलफल भए पनि कांग्रेसले पार्टीमा छलफल भने नगरेको बताईएको छ ।