Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गीता छोएर कहिल्यै पार्टी नफुटाउने कमल थापाको त्यो प्रतिज्ञा

गीता छोएर कहिल्यै पार्टी नफुटाउने कमल थापाको त्यो प्रतिज्ञा

  • मंगलवार, माघ २५ २०७८

  • 619
    SHARES

  • गीता छोएर कहिल्यै पार्टी नफुटाउने कमल थापाको त्यो प्रतिज्ञा

    काठमाडौँ – गीता छोएर कहिल्यै पनि पार्टी नफुटाउने प्रतिज्ञा गरेको दुई वर्ष नपुग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले फेरि पनि राप्रपालाई विभाजनको संघारमा पु¥याउनुभएको छ । पटक–पटक फुटको नियति भोगेर बल्ल तल्ल एक भएको पार्टीलाई गत मंसिरमा सम्पन्न एकता महाधिवेशनमा आफूभन्दा कनिष्ठ राजेन्द्र लिङदेनसँग अध्यक्षमा हारेसँगै थापाले विभाजन गर्न लाग्नुभएको हो ।

    थापाले आज राप्रपाबाट अलग हुने घोषणा गरिसक्नुभएको छ भने केही दिनमै नयाँ दल घोषणाको तयारी अन्तिम चरणमा छ । २०६३ पछि तीनवटा बनेका राप्रपालाई एकता गर्ने क्रममा २०७६ फागुन २८ गते आयोजित एकता घोषणा सभामा थापाले गीतामा हात छोएर पार्टी नफुटाउने कसम खानुभएको थियो ।

    तर गीता हातमा राखेर थापाले खाएको कसम दुई वर्ष पनि टिक्न सकेन । गत मंसिरमा भएको एकता महाधिवेशन नै राप्रपा विभाजनको कारक बनेको छ । एकता महाधिवेशनमा थापा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा चुनाव हार्नुभएको थियो ।

    थापाले आफ्नो हारमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको बताउँदै छानबिनको माग गर्नुभएको थियो । तर निर्मल निवासमाथि छानबिन गर्न वर्तमान नेतृत्व तयार नभएपछि आफूले पार्टीबाट अलग हुने निर्णय लिएको थापाले बताउनुभयो ।

    राप्रपाबाट अलग हुँदै थापाले नयाँ दल दर्ता गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ । समभव भएसम्म वैशाख ३०मा घोषणा भएको स्थानीय चुनावमै भाग लिने गरी थापाले नयाँ दल दर्ता गर्ने तयारी छ । त्यसको संकेत थापाले आज गृहनगर हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा पनि गर्नुभयो । तर, खुलस्त पानुभएन ।

    कमल थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासले आफूविरुद्ध नांगो हस्तक्षेप गरेको आरोप लगाउँदै छानबिनको माग गरे पनि नेतृत्व त्यसका लागि तयार नहुँदा अप्रिय निर्णय लिने चेतावनी यसअघि नै दिनुभएको थियो ।

    तर निर्मल निवासले भने कुनै पार्टी विशेषका महाधिवेशनमा राजाले हस्तक्षेप गरेको आरोप लगाउनु नै मूर्खता हुुने भन्ठान्छ । पूर्वराजाको सचिवालयका एक सदस्य फणि पाठकले राजाको चिन्ता समग्र देश र जनताका लागि हुने बताउनुभयो ।

    कमल थापा राजसंस्थाको पक्षधर रहेर लामो समय राजनीतिक रुपमा शक्तिमा रहेका नेता हुन् । तर पार्टीको महाधिवेशनमा चुनाव हार्नेबित्तिकै आफूले प्रयोग गरेको शक्तिमा हिला छ्याप्ने काम गरेको भन्दै उहाँको घनघोर आलोचना भइरहेको छ । सुन्नमा आए अनुसार अब थापाको नयाँ दलले राजसंस्थाको एजेन्डा नबोकी हिन्दु धर्मको एजेन्डामा राजनीति गर्नेछ ।


    मंगलवार, माघ २५ २०७८०७:२१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij