काठमाडौँ । चारदलीय सत्ता गठबन्धनले संसद्मा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गरेको छ ।
बिहीबार(आज) बालुवाटारमा बसेको गठबन्धनको बैठकले निरन्तर संसद् अवरोध हुँदा संसद्प्रति नै नकारात्मक धारणा बन्न सक्ने भन्दै अवरोध हटाउन एमालेलाई आग्रह गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
‘लामो समयदेखि संसद् सञ्चालन हुन सकेको छैन । यस विषयमा गठबन्धनभित्र गम्भीर छलफल भएको छ,’ कार्कीले भने, ’संसद्को अवरोध हटाएर जनताका समस्यमा छलफल गर्ने वातावरण बनाउन प्रमुख प्रतिपक्षलाई आग्रह गर्ने निर्णय भएको छ।’
सार्वभौम संसद् सञ्चालन हुन नसकेको अवस्थामा राष्ट्रको समस्याका बारेमा गम्भीर भएर संसद् सञ्चालनको वातावरण बनाउन एमालेलाई आग्रह गरिएको कार्कीले बताए ।
प्रवक्ता कार्कीका अनुसार बैठकमा सरकारका नियमित कामकारबाही, स्थानीय निर्वाचनको तयारी र संसदका नियमित कामबारे छलफल भएको थियो । बैठकमा स्थानीय निर्वाचनमा चुनावी तालमेलको सन्दर्भमा पनि छलफल भएको थियो ।
गठबन्धनका अपरिहार्यता महसुस भए पनि चुनावी तालमेलबारे दलहरूभित्र आन्तरिक बहस भएर निष्कर्षमा पुग्नुपर्ने कार्कीले बताए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गर्न सहयोग गरेकामा नेताहरूलाई धन्यवाद दिएको पनि उनले बताए ।