काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी पार्टीको केन्द्रीय समितिको बैठकमा एमसीसी अनुमोदनलाई स्वीकार गरेर चुनाव केन्द्रित हुने प्रस्ताव गर्नूभएको छ । माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीका अनुसार प्रचण्डले सुरुमा ब्रिफिङ गर्नुभएको थीयो ।
त्यसक्रममा प्रचण्डले पार्टीले महाधिवेशनबाट जे संस्थागत निर्णय गरेको थियो सोही अनुसार एमसीसी अनुमोदन भएको बताउनुभयो । ‘एमसीसी व्याख्यात्मक घोषणासहित पास एजेण्डा हाम्रो सामू आएको थियो । त्यसअनुसार समर्थन गरेर अगाडि बढ्यौं’ प्रचण्डको भनाइ उध्दृत गर्दै नेतृ घर्तीले जानकारी दिनुभयो ।
आफूहरूले संशोधनविना एमसीसी अनुमोदन गर्न हुँदैन भन्दै आएको र त्यसका लागि व्याख्यात्मक घोषणाले सहयोग गरेकाले निर्णयमा पुगेको प्रचण्डको प्रष्टीकरण छ । साथै एमसीसीमा व्याख्यात्मक घोषणासँगै एमसीसी पास गर्न तयार भएकाले सत्ता गठबन्धन चुनावसम्मै जाने वातावरण बनेको पनि प्रचण्डले बताउनुभएको छ ।
नेपालले के चाहन्छ भनेर १२ बुँदामा स्पष्ट कुरा राखेका कारण एमसीसी पारित गर्दा माओवादीले राख्दै आएको अडान फेरिएको नभई आवश्यकता अनुसार सही आवश्यक निर्णय भएको प्रचण्डको जिकिर छ ।
उता नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको आफ्नो सम्बन्ध कठिन क्षणमा पुगेको बताउनुभएको छ ।
आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा श्रेष्ठले प्रचण्डसँग आफ्नो २०५३ सालदेखिकै सम्बन्ध भएको बताउनुभएको छ । तर अहिले प्रचण्डले नै पत्रकार सम्मेलन गरेर पार्टी छोड् भनेको उहाँले बताउनुभयो । एक नेताका अनुसार श्रेष्ठले ऐतिहासिक मोडमा कसैले पनि गम्भीर गल्ती गर्न नहुने बताउनुभएको छ ।
श्रेष्ठसहित पाँच नेताले अमेरिकी सहयोग परियोजना एमसीसी, व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पार्टी निर्णयको विरोध गरेका थिए । एमसीसी अनुमोदन भएको भोलिपल्ट १६ फागुनमा पत्रकार सम्मेलन गर्नुभएका प्रचण्डले श्रेष्ठको नाम लिँदै पार्टीमा फरक मत राख्न पाइने, तर कोही सेन्टिमेन्टमा आउन जरुरी नभएको बताउनुभएको थियो ।
प्रचण्डको यो अभिव्यक्तिपछि नारायणकाजी समूहमा पार्टी छाड्नुपर्ने आवाज चर्को उठेको छ ।