Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओलीले भने– अब वाम एकता हैन, बरु चुनावी तालमेल

ओलीले भने– अब वाम एकता हैन, बरु चुनावी तालमेल

  • सोमवार, चैत्र ७ २०७८

  • 893
    SHARES

  • ओलीले भने– अब वाम एकता हैन, बरु चुनावी तालमेल

    काठमाडौं– नेकपा एमालेमा फेरि वाम एकता हुनुपर्ने बहस उठेको छ । तत्कालीन नेकपा एकता भंग भएको र एमाले पनि सिंगो रहन नसकेको स्थितिमा चुनाव नजिकिएसँगै फेरि वाम एकताको बहस उठेको हो ।

    आज बसेको एमाले पोलिटब्युरो बैठकमा वाम एकताका लागि एमाले नेतृत्वले पहल लिनुपर्ने सुझाव नेताहरुले दिएका हुन् ।

    बैठकमा नेता घनश्याम भुसाल र रघुजी पन्तले अध्यक्ष केपी शर्मा ओलीलाई वामपन्थी एकताको पहल लिन आग्रह गर्नुभएको हो । बैठकमा सहभागी नेता ठाकुर गैरेले वाम एकताबारे नेताहरुले सुझाव दिनुभएको जानकारी दिनुभयो ।

    तर वाम एकताका लागि पहल लिनुपर्ने भुसाल र पन्तकोे प्रस्तावमा अध्यक्ष ओली पक्षधर नेताहरुले भने फरक मत राखेका थिए ।

    पोलिटब्युरो सदस्य महेश बस्नेतले कार्यकर्ताहरुलाई एमालेमा भित्र्याउने नीति लिनुपर्ने तर फेरि वाम एकताको कुरा गरेर भ्रम सिर्जना गर्न नहुने बताउनुभएको थियो ।

    स्थायी कमिटी सदस्य हिक्मत कार्कीले पनि वामपन्थी एकताको कुरा कर्णप्रीय भए पनि विगतका गल्ती समीक्षा नगरी प्रचण्ड–माधव समूहसँग एकताको कुराको अर्थ नहुने बताउनुभएको थियो ।

    नेताहरुको सुझावपछि अध्यक्ष ओलीले अहिले वाम एकता सम्भव नरहेको तर चुनावी तालमेल गर्न सकिने जवाफ दिनुभएको छ । बैठकमा वाम एकताको कुरा सुझावका रुपमा आए पनि अध्यक्ष ओलीले चुनावी तालमेल अथवा मोर्चामा मात्रै जान सकिने जवाफ दिनुभएको पोलिटब्युरो सदस्य नारदमुनी रानाले जानकारी दिनुभयो ।

    अघिल्लो चुनावमा नेकपा एमाले र माओवादी केन्द्र चुनावी गठबन्धन गरेर निर्वाचनमा होमिँदा झण्डै दुई तिहाई मत पाएका थिए । त्यसपछि पार्टी एकता भएको थियो । तर, पार्टी एकता कायम राख्न नसक्दा माओवादी र एमाले अलग अलग मात्रै भएनन् एमाले पनि फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पनि जन्मेको छ ।

    अब चुनाव नजिकिएसँगै माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीले फेरि चुनावी तालमल गर्न सकिने अभिव्यक्ति दिन थालेका हुन् ।


    सोमवार, चैत्र ७ २०७८०७:३१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij