काठमाडौँ – वामपन्थी एकता गरेर चुनावमा जाने केही एमाले नेताहरुको प्रस्तावलाई एकीकृत समाजवादीले बेमौसमी बाजाको संज्ञा दिएको छ । एमाले पार्टीकै लागि पनि अहिले वामपन्थी एकताको प्रस्ताव मौसमी बाजा हुन नसक्ने एकीकृत समाजवादीले प्रतिक्रिया दिएको हो ।
एमाले नेताहरु घनश्याम भुसाल, रघुजी पन्त, ठाकुर गैरे लगायतले वामपन्थी एकताका लागि एमाले नेतृत्वले पहल लिनुपर्ने दबाब दिइरहेका छन् ।
पार्टीको आन्तरिक बैठकमा एकताको पहल लिनुपर्ने प्रस्ताव गर्नुभएका नेता भुसालले हिजो पत्रकार सम्मेलन गरेरै आगामी चुनावमा सके एकता नभए वाम गठबन्धन हुनुपर्ने धारणा सार्वजनिक गर्नुभएको थियो ।
हिजो एकता भंग हुनुमा हामी सबै जिम्मेवार छौँ भन्ने महुसुस भएमा मात्रै फेरि वाम एकता सम्भव रहेको उहाँको जिकिर छ ।
तर, भुसालको यो प्रस्ताव एमाले नेतृत्वले नै अस्वीकार गरेका बेला वाम घटकमध्येको एक एकीकृत समाजवादीले पनि असम्भव भनेको हो । एमाले नेतृत्वमा केपी ओली हुँदासम्म एकताको प्रस्ताव मौसमी बाजा बन्न नसक्ने समाजवादीका नेता जगन्नाथ खतिवडाले बताउनुभयो ।
विद्रोह गर्न नसकेर एमालेमै बसेका घनश्याम भुसाल लगायतका नेताहरुले एकताको कुरा गर्नु आफैँमा आत्मरतिमा रमाउनु सरहमात्रै हुने उहाँले बताउनुभयो ।
सत्तामा रहेको नेकपा एस र माओवादी केन्द्र अहिले कांग्रेससँगै चुनावी गठबन्धन गरेर एमालेलाई धक्का दिने चाहनामा छन् । तर, कांग्रेसमा गठबन्धनबारे प्रष्ट धारणा छैन ।
कांग्रेसका केही नेताहरु गठबन्धनको प्रस्ताव गर्ने नेकपा एसलाई भिखारीको संज्ञा दिइरहेका छन् । उपसभापाति धनराज गुरुङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कहिले देउवा र कहिले ओलीको आँगनमा कचौरा थापिरहेको टिप्पणी गर्नुभयो ।
नेकपा एसका नेता खतिवडाले कांग्रेस नेताहरुको यस्तो अपमानजनक अभिव्यक्ति कायमै रहे राजनीतिकले फरक रुप लिन सक्ने बताउनुभयो ।
तत्काल एमालेसँग एकता वा गठबन्धनको सम्भावना नरहे पनि कांग्रेसले निहु खोजिरहे परिस्थिति के हुन्छ भन्न नसकिने उहाँले बताउनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि नै एमालेसँग एकताको प्रस्ताव गर्न आफूले अप्ठ्यारो नमान्ने सार्वजनिक अभिव्यक्ति दिइसक्नुभएको छ ।
तर, एमालेकै नेताहरु प्रचण्डको यो अभिव्यक्ति एमाले देखाएर कांग्रेससँग भाग माग्ने उपाय मात्रै रहको बताउँछन् ।